२३ बैशाख २०८१, आइतबार

झापाकी प्रजातन्त्रवादी नेतृ गिरिराजकुमारी प्रसाईंको निधन

स्व. सिके प्रसाईंकी धर्मपत्नी गिरिराजकुमारीको निधन


गिरिराजकुमारी प्रसाईं

झापा । झापाकी प्रजातन्त्रवादी नेतृ गिरिराजकुमारी प्रसाईंको हिजो मंगलबार राति निधन भएको छ । झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा नेतृ प्रसाईंको ९० वर्षको उमेरमा निधन भएको नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले सामाजिक संजाल ट्वीटर मार्फत जानकारी दिएका छन् ।

शर्माले प्रसाईं हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सिके प्रसाईंलाई एक सफल `प्रसिद्ध बौद्धिक चिन्तक´ बन्न गिरिराजकुमारी प्रसाईंको योगदान जीवन साथीका रूपमा सबैभन्दा महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरेका छन् ।

गिरिराजकुमारी (ज्ञानु) प्रसाईं प्रजातान्त्रिक समाजवादका योद्धा तथा नेपाली कांग्रेसका नेता स्व. सिके प्रसाईंकी धर्मपत्नी थिइन् । नेपालमा लोकतान्त्रिक समाजवादका भाष्यकार विश्वेश्वर प्रसाद कोइरालाको अर्को रुपका रुपमा सिके प्रसाईलाई लिने गरिन्छ । सिके प्रसाईंको बौद्धिक सहयोगीको रुपमा ज्ञानु प्रसाईंलाई लिने गरिन्छ ।

नेपाली लोकतान्त्रिक आन्दोलन, नेपाली जनताका वाक्, प्रकाशन स्वतन्त्रता जस्ता अधिकार प्राप्तिका लागि आवाज बुलन्द गरेवापत तत्कालीन पञ्चायती सरकारले सर्वस्वहरणसहित जीवनसाथी सिके प्रसाईंलाई देश निकालाको कारवाही गर्दासमेत प्रजातन्त्र प्राप्तिको आन्दोलनबाट विचलित हुन नदिई अघि बढ्न उनले उत्प्ररित गरेको नेपाली कांग्रेसका जिल्ला सभापति उद्धव थापाले बताए ।

सिके प्रसाईंको निधनपछि उनकी श्रीमती गिरिराज कुमारी प्रसाईं पनि सक्रिय राजनीतिमा आएकी थिइन् । प्रसाईंले सिके प्रसाईं चिन्तन प्रतिष्ठान स्थापना गरी नेपालमा लोकतान्त्रिक समाजवादको विचार आन्दोलनमा क्रियाशिल रहँदै आएकी थिइन् ।

उनी लोकतान्त्रिक आन्दोलनहरुको सबल योद्धा, समाजसेवी एवं प्रतिनिधिसभामा नेपाली कांग्रेसको प्रत्यक्ष उम्मेदवार समेत भएकी थिइन् ।उनका पति समाजवादी चिन्तक सिके प्रसाईं बीपी कोइरालाका सहयात्री थिए ।

राजनीतिसँगै सामाजिक रूपान्तरणमा सक्रिय रहेकी उनले २०५१ सालको प्रतिनिधिसभाको निर्वाचनमा झापा साविक क्षेत्र नं २ बाट वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेर १७ मतले पराजित भएकी थिइन् । पार्टीको गुटगत राजनीतिका कारण उनी पराजित भएको जानकारहरु बताउँछन् ।

सिके प्रसाईंसँगै राजनीतिमा सक्रिय रहेकी स्व प्रसाईंको जन्म १९८८ साल कात्तिक १७ गते ललितपुरको कुमारीपाटीमा बुबा क्याप्टेन गन्जबहादुर र आमा चन्द्रकुमारी कार्कीका १३ सन्तानमध्ये माइली छोरीका रूपमा जन्म भएको थियो ।

स्व. प्रसाईंका छोरा विवेककेशरी, बुहारी सङ्गीता, छोरीहरू रमिता र नम्रता रहेका छन् । दिवङ्गत प्रसाईंको आजै दिउँसो १ बजे कन्काई माईमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !