१४ बैशाख २०८१, शुक्रबार

काभ्रेको धुलिखेल अस्पतालमा उपचाररत ९८ वर्षीय बृद्धको मृत्यु


मृत्यु

धुलिखेल, भदौ २ । काभ्रे जिल्लामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट थप १ जनाको मृत्यु भएको छ । काभ्रेको धुलिखेल अस्पतालमा उपचाररत धुलिखेल नगरपालिका-७ का ९८ वर्षीया बृद्ध रामचन्द्र भिनाजू श्रेष्ठको मृत्यु भएको हो । उनी काठमाडौंको नयाँ बानेश्वरमा बस्दै आएका थिए ।

उनको स्वासप्रश्वास, छाती तथा घाँटीमा समस्या थियो । प्लाज्मा थेरापी उपचारबाट वृद्धलाई बचाउन आफन्त लागि परेपनि समयमै रगत नपाइएका कारण बुवालाई गुमाउनु परेको उनका कान्छा छोरा रामेश्वर श्रेष्ठले बताएका छन् ।

मृतक श्रेष्ठलाई नयाँ बानेश्वरस्थित घरमा रहँदा कोरोना संक्रमणको लक्षण देखिएको थियो । धुलिखेल अस्पतालमा पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएपछि उनलाई धुलिखेल अस्पतालको आइसियूमा राखिएको थियो । श्रेष्ठ साउन २६ गते धुलिखेल अस्पताल भर्ना भएका थिए ।

मृतक वृद्धको रोग प्रतिरोधक क्षमता कमजोर भएकोले तत्काल प्लाज्मा थेरापीबाट उपचार गर्नुपर्ने डाक्टरको सुझाव थियो । तर, आवश्यक पर्ने रगत अभावका कारण उनको समयमै उपचार हुन नसकेर उनको मृत्य भएको हो ।

उनका परिवारमा छोरा र बुहारीमा समेत कोरोना संक्रमण देखिएको छ । उनीहरु होम क्वारेन्टाइनमा बसेका छन् । कोरोनाबाट मृत्यु भएका वृद्धको शव व्यवस्थापनका लागि पशुपतिको विद्युतीय शवदाह गृह लाने तयारी गरिरहेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ११० पुगेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !