१९ बैशाख २०८१, बुधबार

रतुवा मृगको शिकार गरेको आरोपमा सात पक्राउ


पक्राउ

गोरखा, ३ जेठ । गोरखाको गण्डकी गाउँपालिका–८ सिउरेनीटारबाट मृगको शिकार गरेको आरोपमा सात जनालाई शुक्रबार पक्राउ गरिएको छ । पक्राउ पर्नेमा स्थानीयवासी मधु भुजेल, दुर्गाबहादुर भुजेल, खुमबहादुर माझी, डिबी सापकोटा, शिव रेग्मी, पूर्णबहादुर माझी र रोल्पा जिल्ला घर भइ सिउरेनीटार बस्दै आएका इन्द्रजित ओली रहेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख तोयानाथ पौड्यालले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुले रतुवा मृग शिकार गरेको पाइएको उहाँले बताउनुभयो । जङ्गलबाट मृगको शिकार गरी घरमा ल्याएर मासु काटेर भागभण्डा गरिरहेको अवस्थामा स्थानीयवासी खुमबहादुर माझीलाई गत आइतबार मासुसहित प्रहरीले पक्राउ गरी डिभिजन वन कार्यलाई बुझाएको थियो भने अन्य भागेका थिए ।

घटनामा संलग्नहरुको खोजी गर्दै जाँदा उनीहरु सबै पक्राउ परेको प्रमुख पौड्यालले बताउनुभयो । “माझीलाई पक्राउ गरी अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न थप छ जनाको पहिचान भएपछि उनीहरुलाई पनि पक्राउ गरिएको हो”, उहाँले भन्नुभयो, “पक्राउ परेका सबै मृगको शिकार गर्न सहभागी भएको पाइएको छ ।”

पक्राउ परेकाहरु माथि वन ऐन अनुसारको वन्यजन्तु अवैध शिकार गरेको कसुरमा मुद्दा दर्ता गर्ने गरी अनुसन्धान अघि बढाइने प्रमुख पौड्यालले बताउनुभयो । घटनास्थलबाट बरामद गरिएको मृगको मासु भने स्थानीय जनप्रतिनिधिको रहोवरमा डिभिजन वन कार्यालय परिसरमा गाडिएको उहाँले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !