१४ बैशाख २०८१, शुक्रबार

भिरबाट ट्रक खस्दा ३ जनाको मृत्यु


दुर्घटना

नवलपुर । कालीगण्डकी करिडोरमा पर्ने सेती भिरमा लरी प्लेटफार्म टेलर (ट्रक) दुर्घटना हुँदा चालकसहित तीनको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–३ को भोक्रेफाँटस्थित सेती भिरबाट आज बिहान ना ३ ख ५३३९ नम्बरको ट्रक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक बुलिङटार गाउँपालिकाको खामबेसीबाट फर्कदै गर्दा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मोहनबहादुर खाँणले जानकारी दिए । दुर्घटनामा परी ट्रक चालक मकवानपुरको हेटौँडा–१७ का ४५ वर्षीय सुरेश भुजेल, सोही स्थानका ३५ वर्षीय बलराम श्रेष्ठ र पर्साको ठोरी घर भएका ५० वर्षीय भीमबहादुर तामाङको मृत्यु भएको खाँणले बताए । दुर्घटनाको कारण पत्ता नलागे पनि ट्रक अनियन्त्रित भई पल्टिएको हुनसक्ने प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !