२३ बैशाख २०८१, आइतबार

प्रहरी सचेतनाले घट्यो आत्महत्या


Sucide

२६ मङ्सिर, रोल्पा । रोल्पामा झुण्डिएर आत्महत्या गर्नेको सङ्ख्या घट्दै गएको छ । जिल्ला प्रहरी कार्यालयको अभिलेख अनुसार पछिल्ला तीन वर्षयता यो दर घट्दै गएको देखिएको छ ।

जिल्ला प्रहरी कार्यालयका तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२/७३ मा ४३ जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष ०७३/७४ र ०७४/७५ मा यो सङ्ख्या २८ मा झरेको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्म ११ जनाले झुण्डिएर आत्महत्या गरेको बताइएको छ ।

आत्महत्या जिल्लाको मुख्य समस्या भएकाले यसको न्यूनीकरणमा विभिन्न अभियान सञ्चालन गरिँदै आएको जिल्ला प्रहरी कार्यालय रोल्पाका निमित्त प्रहरी प्रमुख सुदर्शन पन्थीले बताउनुभयो । जनचेतनामूलक कार्यक्रम, रेडियो कार्यक्रम तथा पम्प्लेट वितरण जस्ता कार्यक्रम जिल्लाव्यापी विस्तार गरेका छांै पन्थीले भन्नुभयो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यालय, टोल र वडा वडामा जनचेतनामूलक कार्यक्रमलाई सघन ढङ्गले अघि बढाइएकाले आगामी वर्ष आत्महत्या गर्नेको मात्रा अझै घट्ने विश्वास गरिएको छ ।

यसरी आत्महत्या गर्नेमध्ये अधिकांश १६ देखि २४ वर्ष उमेर समूहका भएको बताइएको छ । आत्महत्या गर्नेमा महिलाको सङ्ख्या धेरै भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रेममा धोका खाएको, पर पुरुषसँगको शारीरिक सम्बन्ध जस्ता कारणले झुण्डिएर आत्महत्या गर्ने गरेको देखिएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !