२३ बैशाख २०८१, आइतबार

दुई युवक र किशोरलाई पाँच वर्ष कैदको फैसला


उजुरी

१२ मङ्सिर, सप्तरी । बलात्कार आरोपमा संरक्षकको जिम्मामा रहेका दुई आरोपित बालकलाई जिल्ला अदालतले आज जनही पाँच वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको एकल इजलासले बलात्कार गरेको कसुरमा १७ र १४ वर्षीय दुई जनालाई साढे दुई वर्ष र सामूहिक बलात्कार गरेको कसुरमा साढे दुई वर्ष गरी पाँच वर्ष कैद सजायको फैसला गरेको हो । आरोपितहरु बालक रहेकाले बालसुधारगृहमा राखिने न्यायाधीश ढुङ्गानाले बताउनुभयो ।

सप्तरीको कञ्चनरूप नगरपालिका–९ रूपनगरस्थित विष्णु सामुदायिक वनभित्र ०७४ साल असार १७ गते आरोपितहरुले सामूहिक बलात्कार गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा उजुरी दर्ता गराएकी थिइन् । प्रहरीले सोही दिन आरोपितहरूलाई पक्राउ गरी कारवाही थालेको थियो ।

पक्राउ परेपछि दुवै बालकले गाई चराउन जङ्गल गएकी १८ वर्षीया युवतीले नै फोन गरी बोलाएर यौनसम्पर्क गर्न लगाएको र उनकै मोबाइलबाट भिडिओ खिच्न लगाएको बताउँदै आएका छन् । भिडिओ सार्वजनिक भएपछि पीडितकी आमाले आफूहरुमाथि झुटा उजुरी दिएको दोषीले बताएका छन् ।

हत्या आरोपित दुई रिहा, दुई थुनामा

एकल महिला हत्या आरोपमा पक्राउ परेका उनकै दुई साथी आज धरौटी राखी तारेखमा रिहा भएका छन् ।

राजविराज नगरपालिका–६ स्थित जिल्ला प्रहरी कार्यालयसँग जोडिएकै घरमा एक्लै बस्दै आएकी आशादेवी देवको हत्या आरोपमा एक महीनाअघि पक्राउ परेकी उनकै छिमेकी ३० वर्षीया चनरदेवी मेहतर ३५ हजार धरौटीमा र ३५ वर्षीया मुन्नीदेवी साह २५ हजार धरौटीमा रिहा भएको अदालतले जनाएको छ ।

जिल्ला न्यायाधीश कमलप्रसाद ज्ञवालीको आदेशमा उनीहरु धरौटी राखी तारेखमा रिहा भए भने हत्या घटनामा प्रत्यक्ष संलग्न रहेका राजविराज नगरपालिका–६ का ३२ वर्षीय शङ्कर राउत र २६ वर्षीय सुरज राउत पुर्पक्षका लागि कारागारमा थुनामा परेका छन् ।

इँट्टा टाउकामा प्रहार गरी हत्या गरेको अवस्थामा देवको रक्ताम्य शव उनकै कोठाको ओछ्यानमा दशैँको टीकाका दिन फेला परेपछि प्रहरीले चारै जनालाई गिरफ्तार गरी गत कात्तिक ११ गते कर्तव्य ज्यानको उजुरी दर्ता गरेको थियो । रिसिइवीकै कारण मुन्नीको निर्देशनमा चनरदेवीले शङ्कर र सुरजलाई हत्या गर्न पठाएको प्रहरीले जनाएको थियो ।

हतियारसहित पक्राउ

सुरुङ्गा नगरपालिका–३ स्थित घौसी महुलियाबाट हतियारसहित एक जना महिलालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका–८ बस्ने ३० वर्षीया गीता मुसहरलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो ।

लुकिछिपी बसेको अवस्थामा मेड इन युएसए लेखेको सानो एक थान पेस्तोल, सो पेस्तोलमा प्रयोग हुने तीन थान खोका र एउटा खुकुरीसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लहान नगरपालिका–५ नयाँबजारमा बस्ने रानीकुमारी शेखको घरमा काम गर्दै आएकी गीताले नगद रु चार लाख ३० हजार तथा सुनको गहनासमेत गरी करीब रु पाँच लाख बराबरको धनमाल चोरी गरी फरार भएकी थिइन् ।

आगलागीबाट रु पाँच लाखको क्षति

सप्तरीका छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा आज रु पाँच लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको छ ।

हनुमाननगर कङ्कालिनी नगरपालिका–३ पोर्ताहामा आगलागी हँुदा रु चार लाख मूल्य बराबरको क्षति भएको छ । स्थानीयवासी शिवलाल सदाको घरमा विद्युत् सर्ट भई आगलागी हँुदा छिमेकी कुकुरा सदाको घरमा समेत आगो फैलिएको थियो । सो आगलागीबाट दुई घर जलेर नष्ट भएका इलाका प्रहरी कार्यालय, भारदहले जनाएको छ ।

त्यस्तै खड्क नगरपालिका–४ अमहामा समेत आगलागी हँुदा स्थानीयवासी मोहम्मद गफुलको एउटा घर जलेको छ । आगलागीबाट उनको करीब रु एक लाखभन्दा बढी बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगो स्थानीयवासी, प्रहरी तथा राजविराजबाट गएको बारुणयन्त्रले निभाएका थिए । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !