२२ बैशाख २०८१, शनिबार

कोरोना महामारी : विश्वभर कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो, झण्डै ५३ हजारको मृत्यु


कोरोना भाइरस

२१ चैत, काठमाडौं । विश्वभर शुक्रबार बिहानसम्म कोरोना भाइरस (कोभिड-१९) को संक्रमितको संख्या १० लाख नाघेको छ भने झण्डै ५३ हजारको मृत्यु भएको छ । शुक्रबार बिहानसम्म प्राप्त भएको तथ्याङ्क अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ हजार ३० पुगेको छ ।

विश्वका लगभग सबै देशमा फैलिएको कोरोना भाइरसबाट शुक्रबार बिहानसम्म करिब १० लाख १३ हजार संक्रमित भएका छन् । संक्रमितमध्ये २ लाख १० हजारभन्दा बढी निको भएका छन् । उत्तर कोरियाले भने आफ्नो मुलुकमा १ जना पनि कोरोना संक्रमित नभएको दाबी गर्दै आएको छ।

शुक्रबार बिहानसम्म अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या करिब ६ हजार पुगेको छ । जोन होप्किन्स विश्वविद्यालयका अनुसार शुक्रबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट ५ हजार ९ सय ११ को मृत्यु भएको छ भने २ लाख ४४ हजारभन्दा बढी संक्रमित भएका छन् ।

अमेरिकाको पनि न्युयोर्क राज्य र न्युयोर्क सहर सबैभन्दा बढी प्रभावित भएको छ । न्युयोर्क सहरमा मात्रै शुक्रबार बिहानसम्म ४९ हजार ७ सय ७ जना संक्रमित भएका छन् भने एक हजार ५ सय ६७ जनाको मृत्यु भएको छ। बिहीबार मात्रै न्युयोर्क सहरमा थप ४ हजारमा संक्रमण देखिएको छ भने १८८ जनाको मृत्यु भएको छ।

त्यस्तै शुक्रबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या १३ हजार ९ सय १५ पुगेको छ भने संक्रमितको संख्या एक लाख १५ हजार २ सय पुगेको छ । त्यस्तै स्पेनमा पनि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३ सय ४८ पुगेको छ भने संक्रमितको संख्या एक लाख १२ हजार नाघेको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !