१९ बैशाख २०८१, बुधबार

नेपालमा पनि २ जनामा देखियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन


ओमिक्रोन

काठमाडौँ । नेपालमा पनि कोरोना भाइरस (कोभिड-१९) को नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै २ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

दक्षिण अफ्रिकाबाट आएका २ जनाको नमुना संकलन गरेर जिन स्विकन्सिङ गर्दा ओमिक्रोन ​भेरियन्टको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिए ।

६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरिएन्ट देखिएको मन्त्रालयले जनाएको छ । उनीहरू दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेको पनि मन्त्रालयले जनाएको छ ।

ओमिक्रोन संक्रमित भएको मुलुकबाट गत मंसिर ३ गते नेपाल आएका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का एकजना ७१ वर्षीय व्यक्तिमा भेरिएन्ट संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले बताए । उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो ।

ओमिक्रोन संक्रमण पुष्टि भएका यी दुवै जनामा कुनै अस्पतालको आइसोलेसन कक्षमा रहेको र गम्भीर लक्षण नदेखिएको पनि मन्त्रालयले बताएको छ । उनीहरूसँग सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलका अनुसार उनीहरुसँग नेपाल आएका ६६ जनाको परीक्षण गर्दा उनीहरुमा भने संक्रमण देखिएको छैन । स्वास्थ्य सचिव डा. पोखरेलले ओमिक्रोन भाइरस देखिएकाले भिडभाड नगर्न र स्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरे ।

नेपालमा ओमिक्रोनका संक्रमित भेटिएपछि यसवारेमा छलफल गर्न आज सोमबार दिउँसो स्वास्थ्य मन्त्रालयमा मन्त्रीस्तरीय बैठक बसेको छ । दक्षिण अफ्रिकामा पहिलोपटक देखिएको ओमिक्रोन भेरियन्टको संक्रमण विश्वका विभिन्न देशमा फैलिने क्रममा रहेको छ ।

दक्षिण अफ्रिकामा पहिलोपटक देखिएको ओमिक्रोन भेरिएन्ट अहिलेसम्म छिमेकी राष्ट्र भारत सहित ४० भन्दा बढी देशहरूमा फैलिसकेको छ । यद्यपि विश्व स्वास्थ्य सङ्गठनका वैज्ञानिकहरूले यसबाट नआत्तिन तर सचेत रहन आग्रह गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !