९ जेष्ठ २०८१, बुधबार

देशभर कोरोना संक्रमण पुनः बढ्यो, निको हुनेभन्दा संक्रमितको संख्या बढी


नेपाल कोरोना

काठमाडौँ । देशभर लगातार दोस्रो दिन पनि कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त हुनेको संख्याभन्दा नयाँ संक्रमितको संख्या बढी देखिएको छ । यसअघि लामो समयसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या बढी हुँदै आएकोमा हिजो सोमबारदेखि भने नयाँ संक्रमितको बढ्न थालेको हो ।

घरबाट मानिस बाहिर निस्किँदा दुई मिटरको भौतिक दूरी कायम नहुनु, व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना नगरेको, अनिवार्य रुपले मास्क र पटकपटक साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग नगरेको, सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु राखेको कारणले कोरोना संक्रमण बढेको जनस्वास्थ्यविद्हरुले बताएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा ७५०३ जनामा पिसिआर परिक्षण गर्दा १७१८ जना र ५०८२ जनामा एन्टीजेन परिक्षण गर्दा ९१६ जना गरी २६३४ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा पिसिआर परिक्षणद्वारा संक्रमितको संख्या ६ लाख ४८ हजार ८५ जना र एन्टीजेन परिक्षणद्वारा संक्रमितको संख्या ३९ हजार ९१० जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५६५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख १२ हजार ९९४ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ९२६३ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा ३३ लाख ८३ हजार ५४४ पिसिआर परीक्षण भएको छ भने २ लाख १३ हजार ३५८ एन्टीजेन परीक्षण गरिएको छ भने ३३० जना क्वारेन्टाइनमा बसेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये २२ हजार ९६९ जना होम आइसोलेसनमा र २८५९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ५६७ जना आईसीयूमा र १७१ जना भेन्टिलेटरमा रहेका छन् ।

यसैगरी सुदूरपश्चिम प्रदेशमा आइतबार र सोमबार कोराना संक्रमितको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो समय निरन्तर घट्दै गइरहेकामा पछिल्ला दुई दिनमा सङ्क्रमित बढेको जनाइएको छ ।

स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कअनुसार सोमबार एक हजार ५५जनाको स्वाबको नमूना परीक्षण गर्दा ४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो । मङ्गलबार ८४७ जनाको नमूना परीक्षण गर्दा ६१ जनामा सङ्क्रमण देखिएको छ । पछिल्लो२४घण्टामा प्रदेशमा सबैभन्दा बढी कैलाली जिल्लामा ४२जनामा सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । दुई दिनमा मृत्युदर भने शून्य छ ।

यो अवधिमा ४७ जना उपचार पछि घर फर्किएका छन् । प्रदेशमा पहिलो पटक गत जेठ २५ गते पनि मृत्युदर शून्य थियो । प्रदेशमा अहिलेसम्म ४३ हजार ९९३सङ्क्रमित पुगेका छन् । दुई लाख ६८ हजार९९५ जनाको नमूना परीक्षण गरिसकिएको छ ।

गत जेठ ७ गते एकै दिनमा प्रदेशमा सबैभन्दा बढी नौ सय ८४ नयाँ सङ्क्रमित थपिएका थिए । प्रदेशमा सबैभन्दा बढी एकै दिन ३१ सङ्क्रमितको मृत्यु भएको थियो ।

यसैबीच कोरोना भाइरस रोकथामका लागि कैलाली जिल्लामा जारी निषेधाज्ञा आगामी साउन १ गतेसम्म थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै होटेल, रेष्टुरेण्ट, चियापसल बिहान ५ बजे देखि राति आठ बजेसम्म सञ्चालन गर्न सकिने, तालीम, गोष्ठी, सेमिनारका लागि २५जना मात्र सहभागी हुन पाउने, सार्वजनिक यातायातका साधन जिल्ला प्रशासनको स्वीकृति लिएर सञ्चालन गर्न पाइने जनाएको छ ।

यस्तै कार, भ्यान, जीप, ट्याक्सीमा चालकसहित चार र अटोमा चालकसहित तीन जना मात्रै यात्रा गर्न पाइने, जिल्लाभरीका यात्रुवाहक सवारी साधनको जोरबिजोर प्रणाली हटाउँदै जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्न दिइने निर्णयसमेत भएको सूचनामा उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !