२ जेष्ठ २०८१, बुधबार

कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना संक्रमित निको


कोरोना संक्रमणमुक्त

कर्णाली । कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना भाइरस (कोभिड-१९) संक्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा मात्र कोरोना संक्रमण जितेर घर फर्कनेको सङ्ख्या १२४ पुगेको छ ।

कर्णालीमा १ लाख २० हजार २७८ को आरटी पिसिआर र ३३ हजार ४८४ को एन्टिजेन परीक्षण गरिएकामा २७ हजार ७३५ जनामा सङ्क्रमण पुष्टि भएको विज्ञप्ति स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशको सार्वजनिक गरेको छ । कूल सङ्क्रमितमा २५ हजार १२९ अर्थात् (९१ प्रतिशत) ले कोरोना जितेर घर फर्केको निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए ।

“पछिल्लोे दुई सातायता कोरोना सङ्क्रमण दर ओरालो लागेको छ । अहिले सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढ्दै गएको छ”, निर्देशक डा. खड्काले भने, “नयाँ भेरियन्टसहितको कोरोना महामारीका कारण गत वैशाख १० गतेयता बढेको त्रासदी पनि कम हुँदै गएको छ । यसले संक्रमण जित्नेको आत्मबल बढेको पाएका छौँ ।”

आइसोलेशनमा बस्ने २ हजार सङ्क्रमितको सङ्ख्या घटेर १ हजार २३० मा पुगेको उनले बताए । उनका अनुसार मृत्युको सङ्ख्यामा पनि कमी आएको छ ।

पछिल्लो २४ घण्टामा ११० जनामा कोरोना पुष्टि भएको र सङ्क्रमणबाट तीन व्यक्तिको मृत्यु भएसँगै हालसम्म यो प्रदेशमा ३०७ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

कोरोना महामारीबाट यो प्रदेशमा सबैभन्दा ठूलो क्षति सुर्खेतलाई पुगेको छ । सुर्खेतमा हालसम्म १७७, सल्यानमा ५०, रुकुमपश्चिममा २९, दैलेखमा २२ र जुम्लामा ८ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !