२० बैशाख २०८१, बिहिबार

सीसीएमसीको कार्यकारी निर्देशकमा पूर्वरथी बालानन्द शर्मा नियुक्त


बालानन्द शर्मा

काठमाडौं । सरकारले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को प्रमुख कार्यकारी अधिकृतमा पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन् ।

यसअघि सीसीएमसीको संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेल थिए । हालै पोखरेललाई सो जिम्मेवारीबाट अलग गरेर प्रधानमन्त्री केपी शर्मा ओली आफैंले निर्देशक समितिको नेतृत्व गर्दै आएका छन् ।

उपप्रधानमन्त्री पोखरेल अब प्रधानमन्त्री मातहतको निर्देशक समितिको सदस्य मात्र रहनेछन् । प्रधानमन्त्री मातहतको निर्देशक समितिअन्तर्गत काम गर्ने गरी ‘कोभिड-१९ संकट व्यवस्थापन केन्द्र’ रहनेछ । यो केन्द्रको प्रमुखमा बाह्रौं तहका स्वास्थ्य सेवाका अधिकृत रहनेछन् ।

नयाँ ऐनले व्यवस्था गरेअनुसार सरकारले समितिको मुख्य कार्यकारी निर्देशकमा पूर्व रथी शर्मालाई नियुक्त गरेको हो । नयाँ अध्यादेशले कोभिड–१९ निर्देशक समिति अन्तर्गत सीसीएमसी रहने व्यवस्था गरेको थियो ।

शर्मा यसअघि विद्रोही माओवादी शान्ति प्रक्रियामा आएपछि माओवादी सेनाका लडाकूहरुको रेखदेख समायोजन तथा पुनर्स्थापना विशेष समिति अन्तर्गतको सचिवालयका संयोजक थिए ।

साथै शर्मासँग नेपालका तर्फबाट संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा फोर्स कमान्डरको समेत भूमिका निर्वाह गरिसकेको अनुभव रहेको छ । त्यस्तै सरकारले शर्माको नेतृत्वमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (नेसनल डिफेन्स युनिभर्सिटी) को निर्माण कार्य अघि बढाएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !