५ जेष्ठ २०८१, शनिबार

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु


मृत्यु

राँझा, २६ वैशाख । बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप आठ जनाको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बढैयाताल गाउँपालिका–१ बर्दिया निवासी ३० वर्षीया महिला, बढैयाताल–२ बर्दिया निवासी ६५ वर्षीया महिला, दङ्गिशरण गाउँपालिका–५ दाङ निवासी ८५ वर्षीया महिला, नेपालगञ्ज उपमहानगरपालिका–१५ निवासी ७३ वर्षीय पुरुष, नेपालगञ्ज–२ निवासी ५३ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

यसैगरी लम्कीचुहा नगरपालिका–१ कैलाली निवासी ४३ वर्षीय पुरुष, तुलसीपुर उपमहानगरपालिका–६ दाङ निवासी ४९ वर्षीय पुरुष र नेपालगञ्ज–११ निवासी ४३ वर्षीय पुरुषको उपचारकै क्रममा गए राति मृत्यु भएको जिल्ला कोभिड स्रोतव्यक्ति वलीले जानकारी दिनुभयो । योसँगै कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेका १८० र जिल्लाबाहिरका १३६ जनाको मृत्यु भएको छ ।

तुलसीपुर कारागारका कैदी मृत भेटिए

तुलसीपुर ः दाङको तुलसीपुरस्थित कारागारमा रहेका एक कैदी मृत फेला परेका छन् । कारागारका नायब सुुब्बा जोखिम ओलीका अनुसार कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका सल्यान कपुरकोट गाउँपालिका–३ निवासी ४६ वर्षीय खड्क बुढाथोकी मृत फेला परेका हुन् ।

बेलुका खाना खाएर सुतेका उनी आज बिहान हेर्दा मृतावस्थामा रहेको ओलीले बताउनुभयो । “बेलुका खाना खाएर सुत्नुभएको थियो, त्यसपछि राति एकपटक उठेर शौचालय गएको र त्यतिबेला ड्युटीमा खटिएका व्यक्तिले सोध्दा गर्मी महसुस भएको भन्नुभएको थियो”, ओेलीले भन्नुभयो, “बिहान उठ्दा मृत फेला पर्नुभयो ।”

शवलाई कारागारमा राखिएको छ । सल्यानबाट आफन्त आउन लागेको भन्दै उनीहरु आएपछि मात्रै आफन्तलाई देखाएर शवपरीक्षण गर्न लैजाने ओलीले बताउनुभयो । उनले विसं २०६८ असार ११ गतेदेखि कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय भोगिरहेका थिए ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !