१२ बैशाख २०८१, बुधबार

कर्णाली प्रदेशमा एकैदिन कोरोना संक्रमणवाट ८ जनाको मृत्यु


कर्णाली प्रदेश

कर्णाली । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा निर्देशनालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ ।

मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–५ सुर्खेतका ६३, वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतका ४५, वडा नं. ८ का ६३, वडा नं. ११ का ५३ र १२ नं. वडाका ४० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए ।

त्यस्तै सिद्धकुमाख गाउँपालिका-२ सल्यानका ४२, मुसिकोट नगरपालिका–४ रुकुमपश्चिमका ६० वर्षीय पुरुष र नारायण नगरपालिका–६ दैलेखका २७ वर्षीया महिलाको मृत्यु भएको निमित्त निर्देशक डा. खड्काले बताए । मृत्यु भएका सुर्खेतका ३ जना व्यक्तिमा आरटी पिसीआर र बाँकी अन्य जिल्लाका ५ जनामा एन्टिजेन पोजेटिभ देखिएको उनले जनाए ।

निर्देशनालयका अनुसार प्रदेश अस्पतालमा ४ जना, सल्यान जिल्ला अस्पताल, रुकुम पश्चिम र दैलख जिल्ला अस्पतालमा १/१ जनाको मृत्यु भएको हो । कर्णालीमा एकैदिन ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको भने यो पहिलो घटना हो । मृतक सबैको जनस्वास्थ्य सेवा कार्यालयको समन्वयमा नेपाली सेनाले शव व्यवस्था गरिरहेको बताइएको छ ।

आज थपिएसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ जना पुगेको छ । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा आरटी पिसीआर परीक्षणमा १०८ र एन्टिजेन परीक्षणबाट १४३ गरी कूल २५३ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै कर्णालीमा आरटी पिसीआर परीक्षणबाट कोरोना संक्रमित हुनेको सङ्ख्यासंख्या ८५६७ र एन्टिजेन परीक्षणबाट ७८० जना पुगेको निर्देशनालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु