४ बैशाख २०८१, मंगलबार

शैक्षिक संस्था, सिनेमा हल र पार्टी प्यालेस बन्द गर्न सीसीएमसीलाई सिफारिस


सीसीएमसी

काठमाडौं । कोरोना भाइरसको नयाँ लहर फैलिएर जोखिम बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय, फिल्म हल र पार्टी प्यालेस बन्द गर्न आग्रह गरेको छ । यसबारे कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को आजै बस्ने बैठकले निर्णय गर्न सक्ने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेत्र त्रिपाठीले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकमा सिफारिसमाथि छलफल हुने बताएका छन् । मन्त्री त्रिपाठीका अनुसार नयाँ खाले ‘युके भेरियन्ट’को असर युवाहरुमा देखिएकोले पठनपाठन भर्चुअल माध्यमबाट गर्न विद्यालयहरु बन्द गर्न सिफारिस गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण थप बढ्न सक्ने देखिएकाले विद्यालय लगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सिफारिस गरेको छ ।

वालवालिकाहरुलाई कुनै जोखिम नहोस भन्नेमा सरकार गम्भीर रहेको मन्त्री त्रिपाठीले बताए । स्वास्थ्य मापदण्डमा सबै सचेत नहुने हो भने अवस्था फेरि भयावह हुने भएकोले विद्यालयका साथै सिनेमा हल, रेन्टुरेन्ट, धार्मिक स्थल, सपिङ महल र पार्टी प्यालेसहरु पनि बन्द गर्न स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको हो ।

केही महिनादेखि विद्यार्थी भौतिक रूपमा उपस्थित भएर विद्यालय र क्याम्पसमा पठनपाठन हुँदै आएमा दोस्रो लहरको कोरोना महामारी आएको र यो थप फैलन सक्ने भएकोले सावधानी अपनाउन लागिएको मन्त्रालयको भनाइ छ । पछिल्लो समय नेपालमा कोरोनाको दैनिक संक्रमण बढ्दै गएकोमा बिहीबार नेपालमा ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

तर यता रात्रीकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्ने स्वास्थ्य मन्त्रालयको सूचना भने बुधबार खारेज भएको छ । यसरी व्यवसाय बन्द गराउने भए मन्त्रिपरिषदबाटै निर्णय हुनुपर्ने भन्दै स्वास्थ्य मन्त्रालयको सूचना बाध्यकारी नहुने सरकारी अधिकारीहरुले स्पष्ट पारेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !