७ बैशाख २०८१, शुक्रबार

स्वास्थ्यमन्त्री त्रिपाठी भन्छन्, ‘जेठ-असारमा कोरोना संक्रमण फेरि उच्च विन्दुमा पुग्नसक्छ’


हृदयेश त्रिपाठी संसदमा फाइल फोटो

काठमाडौं । सरकारले आगामी जेठ-असारमा कोरोनाको संक्रमण फेरि उच्च विन्दुमा पुग्नसक्ने आंकलन गरेको छ । आज सोमबार पुन:स्थापित प्रतिनिधिसभाको सातौ बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले सो कुरा बताएका हुन् ।

मन्त्री त्रिपाठीले अबका दिनमा जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी बनाउन नसके संक्रमण बढ्दै जेठ-असारमा अर्को उच्च विन्दुमा पुग्नसक्ने बताएका हुन् । यसअघि कात्तिक महिनामा संक्रमण उच्च हुनुका साथै कात्तिक ५ गते एकैदिन ५७४३ नयाँ कोरोना संक्रमित भेटिएको दृष्टान्त प्रस्तुत गरे । परीक्षणका आधारमा संक्रमितको अनुपात त्यो समयमा ३५ प्रतिशत पुगेको उनले बताए ।

दक्षिणको मित्रराष्ट्र भारतमा बढ्दो कोरोना संक्रमणले नेपाललाई थप सचेत बनाएको समेत मन्त्री त्रिपाठीले बताए । छिमेकी देश भारतमा संक्रमित बढ्दै गएको बताउँदै उनले आवागमनलाई व्यवस्थित गर्दै क्वारेन्टिन र आइसोलेनका साथै जनस्वास्थ्यका मापदण्डलाई कडाइ गरिनुपर्नेमा जोड दिए ।

नेपालमा कोरोना संक्रमणको दुईवटा वेभमा आएको बताउदै उनले पहिलो वेभ अघिल्लो वर्ष जेठको पहिलो सातोदखि असारको दोस्रो साता उच्च बिन्दुमा पुगेर साउनको पहिलो सातामा न्यून अवस्थामा पुगेको भन्दै त्यसपछि पुनः बढ्दै संक्रमण कात्तिकको दोस्रो साता उच्च बिन्दुमा पुगेको स्मरण गरे । त्यसपछि संक्रमण घट्दै गएर माघको पहिलो सातादेखि निकै कम हुँदै गएकोमा दोस्रो वेभको रुपमा हालका दिनमा फेरि संक्रमित थपिँदै गएको बताए ।

पुनः लकडाउनमा जान नपरोस् भनेर सबैले सावधानी अपनाउनुपर्ने भन्दै उनले अहिलेको अवस्थामा आतंकित भने हुन नपर्ने उल्लेख गरे । मन्त्री त्रिपाठीका अनुसार अनुसार झण्डै १८ लाख नागरिकलाई खोप दिइसकेको छ ।

असारसम्म ६० लाख जनतालाई दिने सरकारको लक्ष्य रहेको बताउदै खोप ल्याउन रकम अभाव नहुने पनि उनले प्रतिबद्धता व्यक्त गरे । साथै मन्त्री त्रिपाठीले कोरोनामा भएको खर्चको श्वेतपत्र जारी गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !