१३ बैशाख २०८१, बिहिबार

सरकारले गर्यो काठमाडौं प्रवेशमा कडाइ : एन्टिजेन परीक्षण अनिवार्य


थानकोट नाका फाइल फोटो

काठमाठौं । नेपाल सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यका प्रवेश गर्न नाकामा अब एन्टिजेन परीक्षण अनिवार्य गर्ने भएको छ ।

काठमाडौं जिल्ला कोभिड–१९ नियन्त्रण तथा रोकथाम समिति (डीसीएमसी) को आज सोमबार बसेको बैठकले काठमाडौं प्रवेश गर्ने नाकाहरुमा कडाइ गर्दै सम्बन्धित नगरपालिकाहरुले स्वास्थ्य जाँच गर्ने र एन्टिजेन टेस्ट गर्न हेल्प डेस्कको व्यवस्था मिलाउने निर्णय गरेको हो ।

यस्तै एन्टिजेन टेस्टबाट नेगेटिभ देखिएको तर व्यक्तिमा लक्षण देखिइ शंकास्पद लागेमा पीसीआर टेस्ट का स्वाब संकलन गरी पठाउने निर्णय पनि बैठकले गरेको छ ।

यसअघि सबै महानगर-नगरपालिकाहरूमा सञ्चालित आईसोलेशन केन्द्र र क्वारेनटाइनहरुलाई अध्यावधिक राख्ने र सबै नगरपालिकाहरुले आ-आफ्नो नगरपालिकाभित्र कम्तिमा १/१ वटा आईसोलेशन तथा क्वारेन्टाइनको सञ्चालन र व्यवस्थापन गर्ने निर्णय पनि भएको छ ।

स्वास्थ्य मापदण्ड पालना गर्ने गराउने सन्दर्भमा स्वास्थ्य कार्यालय, सबै नगरपालिका, सुरक्षा निकायले प्रचारप्रसारमा जोड दिँदै अनुगमन गरी मापदण्ड पालना नगरेको पाइएमा कारबाही गर्ने निर्णय पनि भएको छ ।

यस्तै जनचेतनाका लागि जनशक्ति परिचालन गर्ने, कन्ट्याक्ट ट्रेसिङमा जोड दिने, चीनबाट प्राप्त भ्याक्सिन लगाउन आवश्यक समन्वय गर्ने, सार्वजनिक स्थानमा गरिने कार्यक्रम हाललाई स्थगित गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै विद्यालयहरुमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, विद्यार्थीहरुलाई मास्क लगाउने देखि कक्षाकोठालाई व्यवस्थित गर्ने कार्य शिक्षा कार्यालयमार्फत गर्ने निर्णय पनि भएको हो । कोभिड–१९ का संक्रमितहरुको केस इन्भेष्टिगेसन र कन्ट्याक्ट ट्रेसिङ गर्ने व्यवस्था स्थानीय तहमार्फत गर्ने निर्णय पनि बैठकले गरेको छ ।

स्वास्थ्य मापदण्ड पूर्ण पालना गराउने सम्बन्धमा स्वास्थ्य कार्यालय, सबै नगरपालिका सुरक्षा निकायले प्रचार प्रसारमा जोड दिँदै अनुगमन गरी मापदण्ड पालना नगर्ने गरेको पाइएमा दण्ड जरिवाना गर्ने निर्णय पनि बैठकले गरेको हो ।

यस्तै आजै सोमबारदेखि लागू हुनेगरी नेपाल प्रहरीले ठाउँ-ठाउँमा हेल्थ डेस्क राखेर अनुगमन गर्ने, मास्क नलगाउनेलाई लगाउन आग्रह गर्ने र मास्क वितरण गर्ने, सार्वजनिक यातायातमा पनि अनुगमन गरेर अनिवार्य रुपमा मास्क लगाउनलाई अभिप्रेरित गर्ने निर्णय पनि बैठकले गरेको छ ।

सरकारले गर्यो काठमाडौं प्रवेशमा कडाइ : एन्टिजेन परीक्षण अनिवार्य


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु