१८ असार २०८१, मंगलबार

बाँके र प्युठानमा थप २ जना कोरोना संक्रमित पुरुषको मृत्यु


मृत्यु

राँझा, १५ कात्तिक । बाँकेमा उपचाररत थप १ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका–४ का ७० वर्षीय पुरुष रहेको छ । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत उहाँको आज बिहान पाँच बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि ११ कात्तिकमा शिक्षण अस्पताल कोहलपुरमा भर्ना हुनुभएका उहाँको परीक्षण गर्दा कात्तिक १२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित ती पुरुषलाई रोगको प्रकृति अनुसार प्लाजामा थेरापीलगायत सबै प्रकारको उपचार गरेपनि स्वास्थ्य अवस्थामा सुधार नआएपछि शिक्षण अस्पतालको कोभिड सघन उपचार कक्षमा उहाँको आज बिहान मृत्यु भएको हो ।

योसँगै बाहिरी जिल्लाबाट उपचारका लागि बाँकेमा आउने सङ्क्रमितमध्ये अहिलेसम्म १८ जनाको मृत्यु भइसकेको बताइएको छ । अहिलेसम्म बाँकेमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ ।

यसैगरी प्युठानको माण्डवी गाउँपालिका-३ दारिमचौरका ५४ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गएराति ११ बजे मृत्यु भएको माण्डवी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धु्रवकुमार पोखरेलले जानकारी दिनुभयो ।

निमोनिया रोगबाट ग्रसित उहाँको वुटवलमा उपचार नभएपछि थप उपचारका लागि चितवन लगिएको थियो । रोगको अवस्था अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार गर्दा समेत बिरामीको अवस्थामा सुधार आउन नसकी उपचारकै क्रममा उहाँको मृत्यु भएको प्रमुख पारेखरेलले बताउनुभयो । योसँगै प्युठानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !