काठमाडौँ, भदौ २३ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ९०२ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८१३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा २२८७ जनाले कोरोना भाइरस जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३२९६४ पुगेको छ । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ५३१० पुगेको छ भने आइसोलेसनमा १४८६८ जनाको उपचार भइराखेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ३०६ जनाको मृत्यु भई सकेको छ ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार हालसम्म नेपालका ६ जिल्ला कोरोनामुक्त भएका छन् । उक्त जिल्लामा भएका सबै कोरोना संक्रमितहरु निको भएको र हाल सक्रिय संक्रमित छैनन् । जसमा प्रदेश नम्बर १ मा १, गण्डकी प्रदेशमा २ र कर्णाली प्रदेशमा ३ वटा जिल्ला रहेका छन् । ताप्लेजुङ, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला गरी ६ जिल्ला कोरोनामुक्त भएका छन्
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार ७७ जिल्लामध्ये ८ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् । मोरङ, सुनसरी, धनुषा, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, रुपन्देही जिल्ला गरी ८ जिल्लामा कोरोना भाइरसका ५०० भन्दा बढी बिरामी रहेका छन् ।