२१ बैशाख २०८१, शुक्रबार

कोरोना संक्रमण : कुन प्रदेशमा कति संक्रमित र मृतक थपिए ?


कोरोना संक्रमण

विराटनगर,२२ भदौ । प्रदेश नं १ मा एक लाखभन्दा बढीको पिसिआर परीक्षण सम्पन्न भएको छ । स अहिलेसम्म एक लाख ३४८ जनाको परीक्षण गरिएकामा ९६ हजार १७१ जनाको रिपोर्ट नेगेटिभ एवं चार हजार १७७ को पोजेटिभ आएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४० हजार ६४३, प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरबाट ३१ हजार ३४३, कोशी अस्पताल विराटनगरबाट २५ हजार ४३६, मेची अस्पताल झापाबाट दुई हजार ८९१ र अन्य प्रयोगशालाबाट ३५ जनाको परीक्षण सम्पन्न भएको छ ।

प्रदेशमा मोरङ जिल्लामा सबैभन्दा बढी ३१ हजार २६७ जनाको परीक्षण गरिएकामध्ये दुई हजार ४५ जनामा सङ्क्रमण देखिएको छ । यसैगरी सुनसरीमा २३ हजार ६७९ र झापामा २३ हजार ५८५ जनाको परीक्षण भएको छ ।

प्रदेशमा अहिले चार प्रयोगशालाबाट पिसिआर परीक्षण हुँदै आएको छ । प्रदेशमा गत चैत १८, कोशीमा चैत २९, प्रदेश जनस्वास्थ्य प्रयोगशालामा वैशाख १९ र मेची अस्पतालमा साउन ३० गतेदेखि पिसिआर परीक्षण शुरु गरिएको मन्त्रालयले जनाएको छ ।

जनकपुर– प्रदेश नं २मा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या अब १०६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप पाँच जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएपछि प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङख्या १०६ पुगेको सामाजिक मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा सिरहाबाट ५६, धनुषाबाट ४२, महोत्तरीबाट ६, सर्लाहीबाट २० र पर्साबाट एक जना गरी १२५ नयाँ सङ्क्रमित थपिएका छन् । यससमेत प्रदेशमा सङ्क्रमितको सङ्ख्या ११ हजार २६१ पुगेको छ । तीमध्ये ९२ जना उपचार गराई आज निको भएर घर फर्केका छन् । यससमेत गरी अहिलेसम्म पाँच हजार ८३६ जना निको भएर घर फर्केका छन् ।

प्रदेशअन्तर्गतका १७४ क्वारेन्टिनमा आजसम्म ५४९ जना बसेका छन् भने होम क्वारेन्टिनमा एक हजार ७२६, आइसोलेसनमा ८५२ र होम आइसोलेशनमा चार हजार ४६७ जना बसेका छन् । केही दिनदेखि क्वारेन्टिन र आइसोलेशनमा बस्नेको सङ्ख्या क्रमिक रुपमा घट्दै गइरहेको तथा होम क्वारेन्टिन र होम आइसोलेशनमा बस्नेको सङ्ख्या वृद्धि भइरहेको छ ।

कर्णाली– आयुर्वेद शाखा जुम्लाले यहाँका कोरोना सङ्क्रमितलाई योगाभ्यास गराउन थालेको छ । यहाँका विभिन्न आइसोलेशनमा रहेका सङ्क्रमितको प्रतिरक्षा प्रणालीमा सहयोग पु¥याउने उद्देश्यका साथ योगाभ्यास गराइएको हो ।

जुम्लाको चन्दननाथ नगरपालिकास्थित निर्माण व्यवसायी सङ्घको कक्षमा रहेको आइसोलेशनका कोरोना सङ्क्रमितलाई अहिले हरेक बिहान योगाभ्यास गर्न थालेका छन् । यहाँका विभिन्न आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितलाई हरेक बिहान योगाभ्यास गराउन थालिएको आयुर्वेद शाखा जुम्लाका प्रमुख तथा आयुर्वेेद चिकित्सक डा प्रतिभा शर्माले जानकारी दिनुभयो ।

“यसअघि जुम्ला हिमा गाउँपालिकाको कालिकाखेतुको आइसोलेशनका ४० सङ्क्रमितहरुलाई योग अभ्यास गराइयो”, रासससँग कुरा गर्दै डा शर्माले भन्नुभयो, “अहिले यहाँका २७ सङ्क्रमितलाई अभ्यास गराइरहेका छौंँ । सबैले निकै आनन्द लिएर अभ्यास गरिरहनुभएको छ ।”

योगाभ्यासले मानव जीवनलाई अनुशासित बनाउन, शुद्ध पार्न र मन शान्ति दिन सघाउने भएकाले हरेक व्यक्तिले गर्नुपर्नेमा उहाँको जोड छ । उहाँले अगाडि भन्नुभयो, “रोग प्रतिरक्षा प्रणाली कम भएपछि असर पार्न सक्ने अवस्थालाई ध्यान दिएर तीनदेखि सात दिनसम्मको योग अभ्यास शुरु गर्दा सङ्क्रमित निकै रुचि राखेर सहभागी हुनुभएको छ । हामीले सबै कोरोना सङ्क्रमितलाई अश्वगन्धा, स्टीमधु, अमला जस्ता आयुर्वेदिक औषधि पनि वितरण गर्दै आएका छौंँ ।”

उहाँका अनुसार यसअघि जुम्लाका विभिन्न क्वारेन्टिनका ८०० व्यक्तिलाई योगाभ्यास गराइसकिएको छ ।

आयुर्वेद शाखा जुम्लाका अध्यक्ष मनोज बुढाथोकी मगरले व्यक्तिले सही तरिकाले योगाभ्यास गरेमा उसको परिवार पनि लाभान्वित हुने बताउनुभयो ।

सुदूरपश्चिम–कैलाली लम्कीचुहा नगरपालिकाको गोरङ्गेस्थित नेपाली सेनाको पृतना तालीम शिक्षालयका ६३ जनामा आज कोरोना सङ्क्रमणको पुष्टि भएको छ । नगरपालिका, स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले शिक्षालयका २४५ सैनिकको नमूना सङ्कलन गरिएकामा ६३ मा कोरोनाको पुष्टि भएको जानकारी दिनुभयो । शिक्षालयका १२९ जनाको नतिजा नेगेटिभ आएको जनाइएको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा आज गरिएको ४४५ नमूनाको परीक्षणमा ७६ जनामा सङ्क्रमित पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताउनुभयो । कोभिड–१९ बाट प्रदेशमा सबैभन्दा बढी प्रभावित कैलालीमा कूल सङ्क्रमित र सक्रिय सङ्क्रमित बिरामी बढ्दै गएका छन् । आजसम्म कैलालीमा छ, बझाङ र बाजुरामा दुईदुई तथा अछाममा एक गरी प्रदेशमा ११ जनाको मृत्यु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !