७ बैशाख २०८१, शुक्रबार

सप्तरीमा होम क्वारेन्टिनमा बस्नेको संख्या बढेपछि खाली हुँदै क्वारेन्टिन


सप्तरीमा होम क्वारेन्टिनमा बस्नेको संख्या बढे

सप्तरी, २२ असार । सप्तरी जिल्लामा क्वारेन्टिनमा बस्नेको सङ्ख्या घट्दैछ । होम क्वारेन्टिनमा बस्ने बढेका छन् । असार २१ गतेसम्ममा क्वारेन्टिनमा बस्नेको सङ्ख्या ३०६ मा झरेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ जसमा ३२ महिला छन् ।

नौ नगरपालिका र नौ गाउँपालिका रहेको जिल्लाको स्थानीय तहमा रहेको ८६ वटा क्वारेन्टिनस्थलमा तीन हजार ८०० श्यया छ । क्वारेन्टिनमा बस्नेको सङ्ख्या घटेपछि ४७ क्वारेन्टिनस्थल पूर्णतया खाली भएका छन् । बाँकी ३९ क्वारेन्टिनमध्ये अधिकांशमा एकदेखि पाँच जना मात्र छन् ।हालसम्म क्वारेन्टिनमा बस्नेको सङ्ख्या ४९७ महिला र चार हजार ५६० पुरुष गरी पाँच हजार ५७ पुगेको छ । क्वारेन्टिनमा हालसम्म राखिएकामध्ये ४६५ महिला र चार हजार २८६ पुरुष गरी चार हजार ७५१ जनालाई घर पठाइएको स्वास्थ्य कार्यालय, सप्तरीका नारायणप्रसाद राउत बरैले जानकारी दिनुभयो ।

जेठ २१ गते क्वारेन्टिनमा बस्नेको सङ्ख्या १३४ महिला र एक हजार ७९० पुरुष गरी एक हजार ९२४ पुगेको थियो । त्यसपछि क्वारेन्टिनमा बस्ने क्रमशः घट्यो । अधिकांशको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएपछि घर पठाइएको र सङ्क्रमण पुष्टि भएका केहीलाई उपचारका लागि आइसोलेशन केन्द्रमा राखिएकाले क्वारेन्टिनमा बस्ने निरन्तर घट्दै गइरहेको स्वास्थ्य कार्यालय, सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताउनुभयो ।

असार २१ गतेसम्म होम क्वारेन्टिनमा बस्ने चार हजार १०५ पुगेका छन् । सप्तरीमा सङ्क्रमित सङ्ख्या ३२१ पुगेकोमा १३९ जना घर फर्किएका कोभिड–१९ व्यवस्थापन संयोजक तथा गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झाले बताउनुभयो । हाल २० महिला र १४९ पुरुष आइसोलेशन केन्द्रमा छन् । पछिल्लो पटक थप भएका डाक्नेश्वरी नगरपालिकाका आठ, विष्णुपुर गाउँपालिकाका छ र सप्तकोशी गाउँपालिकाका चार सङ्क्रमितलाई राजविराज ल्याउने तयारी भइरहेको छ ।

सप्तरीमा थप भएका १८ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या ३२१ पुगेको हो । सबै स्थानीय तहमा कोरोना सङ्क्रमित फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ । सप्तरीमा पिसिआर परीक्षणका लागि हालसम्म चार हजार ७९१ जनाको स्वाब सङ्कलन गरिएकामध्ये ३२१ जना कोरोनाबाट सङ्क्रमित भएका छन् भने चार हजार २३६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । स्वाब सङ्कलन गरिएकामध्ये २५२ जनाको नतिजा आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !