२२ बैशाख २०८१, शनिबार

धादिङमा थपिए २३ जना नयाँ कोरोना संक्रमित


धादिङ जिल्ला

धादिङ, ३१ जेष्ठ । धादिङ जिल्लामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण २३ जनामा पुष्टि भएको छ । योसंगै धादिङमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।  शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौंमा गरिएको स्वाब परीक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण प्रसाद बस्यालले पुष्टि गरेका छन् ।

संक्रमितहरु सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरु रहेको नीलकण्ठ नगरपालिकाले जानकारी दिएको छ । आज संक्रमितमध्ये ५ जना महिलाहरु र १८ जना पुरुषहरु रहेका छन् । भारतबाट फर्किएर बिभिन्न स्थानिय तहले निर्माण गरेको क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना संक्रमण फैलदैँ गएको छ ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा नीलकण्ठ नगरपालिका वडा नम्बर १ का २४, २६, ३५ वर्षीया महिलाहरु ३ जना र २६, ३२,२९ वर्षीय पुरुषहरु ३ जना गरी ६ जना, वडा नम्बर ४ का २३ वर्षीय पुरुष, वडा नम्बर ७ का ३८, ३२, २५, २२, ६२, ३२, ३२, ४७, ३० वर्षीय पुरुषहरु ९ जना र वडा नम्बर १४ का ३२, ३५ वर्षीया महिला र १८, २०, २५, ४१, ४५ वर्षीय पुरुषहरु गरी ७ जना रहेका छन् ।

क्वारेन्टाइनमा रहेकाहरुको आरडीटी परीक्षणमा एन्टिबडी पोजिटिभ आएकाहरुको गत जेठ २९ गते स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको थियो । नीलकण्ठ नगरपालिकामा मात्रै संक्रमित संख्या ४१ पुगेको छ । योसँगै धादिङमा संक्रमितको संख्या ८२ पुगेको छ । संक्रमित देखिएकामध्ये ३ जना निको भएर घर फर्किएका छन् भने अन्य उपचाररत छन् । संक्रमितहरुलाई स्थानीय तहहरुले आफ्नै आइसोलेसनमा राखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !