८ जेष्ठ २०८१, मंगलबार

कर्णाली प्रदेशमा एकैपटक थप ५९ जनामा देखियो कोरोना संक्रमण


कोरोना भाइरस (कोभिड-१९)

१७ जेठ, काठमाडौं । आज शनिबार राती थप ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १०५ जना भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलद्वारा शनिबार राति ९ः४५ बजे जारी गरेको प्रेस विज्ञप्तिमा सो जानकारी दिइएको हो ।

नयाँ कोरोना संक्रमित पुष्टि भएकाहरुमा दैलेख, कालिकोट, बाजुरा, सल्यान, सुर्खेतका रहेका छन् । उनीहरुको स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा ३३ जना, प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा २६ जनामा कोरोना पुष्टि भएको हो । तीमध्ये एक १ जना महिला बाहेक सबै पुरुषहरु छन् ।

आज राती दैलेख जिल्लाको नारायण नगरपालिकाका १४ जना पुरुषहरु, दैलेखकै दुल्लु नगरपालिकाका १ जना पुरुष, कालिकोट जिल्लाको शुभकालिका गाउँपालिकाका १२ जना पुरुषहरु, कालिकोटकै महावै गाउँपालिकाका ५ जना पुरुषहरु, बाजुरा जिल्लाको जुजनाथ-५ का १ जना पुरुष, सल्यान जिल्लाको वनगाड कुपिन्डे नगरपालिकाकाका २५ जना पुरुषहरु र सुर्खेत जिल्लाको बराहताल गाउँपालिकाका-९ का १ जना महिला संक्रमित पुष्टि भएका हुन् ।

शनिबार संक्रमण देखिएका दैलेखको दुल्लु नगरपालिकाका ३५ वर्षिय पुरुषको मृत्यु भइसकेको छ । भारतबाट उनको मृत्युपछि नै स्वाब परीक्षणका लागि ल्याइएको थियो । मन्त्रालयका अनुसार आज राती संक्रमित सवैको स्वास्थ्य अवस्था सामान्य छ र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा समेत रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !