१४ बैशाख २०८१, शुक्रबार

नेपालमा फेरि भेटिए नयाँ कोरोनाको बिरामी, संक्रमितको संख्या पुग्यो ६


डा. विकास देवकोटा

२० चैत, काठमाडौं । नेपालमा फेरि नयाँ १ जना कोरोना भाइरस (कोभिड-१९) को संक्रमित भेटिएसंगै कोरोना संक्रमितको हुनेको संख्या ६ जना पुगेको छ । बिहीबार संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । उनी चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानमा कतारको दोहा हुँदै काठमाडौ आएकी थिईन । उनी बागलुङकी ६५ वर्षकी वृद्ध महिला भएको पनि खुलेको छ ।

बिगतमा संक्रमित ५ जनामध्ये पहिलो १ जना कोरोना संक्रमित व्यक्ति भने उपचारपछि निको भएर घर गइसकेका छन् । दोस्रो संक्रमित काठमाडौंकी १९ वर्षीया युवती हुन् । तेस्रो धादिङको, चौथो धनगढीको र पाँचौं बाग्लुङको व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । छैटौं कोरोना भाइरस संक्रमित महिला बाग्लुङकी भएसंगै अहिलेसम्म बाग्लुङ जिल्लामा कोरोना भाइरस संक्रमित हुनेको संख्या २ पुगेको छ ।

दोस्रो संक्रमित युवती फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको क्यू आर ६५२ जहाजबाट काठमाडौं आएकी थिइन् । उनमा चैत १० गते कोरोना संक्रमण पुष्टि भएपछि सरकारले देशभर लकडाउन घोषणा गरेको थियो । यसअघि उक्त बिमानबाट नेपाल आएका २ जनामा कोरोना संक्रमण पोजेटिभ देखिइसकेको थियो । यो नयाँ संक्रमित देखिएसंगै उक्त बिमानबाट नेपाल आएका ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

अहिलेसम्म काठमाडौं र काठमाडौं बाहिर गरी ११८४ वटा नमुना परीक्षण गरिएको पनि डा. देवकोटाले जानकारी दिएका छन् । काठमाडौंमा ४३ र धरानमा १२ वटा नमुना परीक्षणको क्रममा रहेको तथा सैनिक अस्पतालले १७ वटा स्वाबको नमुना परीक्षणका लागि लिएको पनि उनले जानकारी दिएका छन् ।

डा. देवकोटाका अनुसार १६ जना उपत्यकामा र ९९ बाहिर गरी मुलुकभर १०५ जना आइसोलेसनमा छन् । स्वास्थ्य मन्त्रालयको एप्समा ४१९८ जनाले आफ्नो स्वास्थ्य विवरण भरेको र तीमध्ये १७ रेडमा रहेकाले उनीहरुको नमुना परीक्षण गरिने पनि उनले जानकारी दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !