२३ बैशाख २०८१, आइतबार

क्यान्सरबाट पीडितलाई उपचार खर्च अभाव


क्यान्सर

२२ फागुन, बलेवा । क्यान्सरबाट पीडित बनेका बागलुङको बरेङका एक युवाको उपचारमा खर्च अभाव भएको छ । बरेङ गाउँपालिका–३ बाटाकाचौरका नरबहादुर परियारको उपचारमा खर्च अभाव भएको हो ।

विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार गराइरहेका परियारको उपचार गर्न खर्चको अभाव भएको परिवारले जनाएको छ । मध्यम परिवारका नरबहादुरको प्रारम्भिक उपचारमै भएको सबै सम्पत्ति सकिएको र बाँकी उपचारका लागि खर्चको अभाव भएको परियारका छिमेकी सम्झना क्षेत्रीले बताउनुभयो । वैदेशिक रोजगारीको क्रममा दुई वर्ष अघि साउदी अरेविया पुग्नुभएका परियार बिरामी परेर नेपाल फर्केपछि उहाँमा क्यान्सरको संक्रमण देखापरेको थियो । साउदी जाँदा लागेको ऋणसमेत भुक्तानी नहुँदै क्यान्सरजस्तो ठूलो खर्च लाग्ने रोग लागेकाले परियार परिवार समस्यामा परेको छ ।

सम्पत्तिका नाममा चार पाँच डोका मकै फल्ने बारी भएका उहाँको गाउँमा चन्दा उठाएर औषधि उपचारका लागि भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पु¥याइएको थियो ।

शैक्षिक सामाग्री वितरण

नेपाल टे«ड युनियन काङ्ग्रेस जिल्ला कार्यसमिति बागलुङले आफ्नो स्थापना दिवसको खर्च कटाएर विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । युनियनले आफ्नो ७३औँ स्थापना दिवसको अवसरमा सदरमुकाम बागलुङ बजारमा रहेको बालमन्दिर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको हो ।

विद्यालयमा अध्ययनरत गरीब, जेहेन्दार र विपन्न परिवारका १५ विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको टे«ड युनियन काङ्ग्रेस बागलुङका अध्यक्ष ईश्वरठाकुर पौडेलले जानकारी दिनुभयो । विद्यार्थीका लागि सानो सहयोगले उनीहरूको मनोबल उच्च बनाउनका लागि मद्दत गर्न शैक्षिक सामग्री प्रदान गरिएको पौडेलले बताउनुभयो । गरीब तथा विपन्न परिवारका विद्यार्थीका लागि यो ठूलो राहत भएको र हरेक संस्थाले आफ्नो स्थापना दिवसमा यस्तै सामाजिक क्षेत्रमा सहयोग गरेर मनाउन सके विद्यार्थीको सिकाइमा सुधार आउने उहाँको भनाइ थियो ।

आयोडिन नुनबारे सचेतना

आयोडिनयुक्त नुनको प्रयोग कम गर्ने गरेका बागलुङको तमानखोला गाउँपालिकाका विभिन्न स्थानमा पुगेर आयोडिनयुक्त नुनबारे साल्टट्रेडिङ कर्पोरेशन बागलुङले सचेतना अभियान चलाएको छ ।

शाखाले बुङगादोभान, तमान र खुङ्खानीका विद्यालय तहमा पुगेर आयोडिनको आवश्यकताबारे जानकारी दिनुका साथै बालबालिकालाई झोला, टिसर्टलगायतका सामग्री वितरण गरेको हो । आयोडिनको कमीले हुने समस्याबारे थाहा नपाएर धेरै गाउँलेले अन्य नुन खाँदा अपाङ्गता बढेको समेत पाएपछि यो अभियान चलाइएको शाखाका प्रमुख मनोज श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठले ती विद्यालयमा दुई बालबालिकाको चिह्न अङ्कित ४० थान झोला, ३५ थान सामान राख्न मिल्ने झोला, शिक्षक र विद्यार्थीका लागि आयोडिनयुक्त नुनको प्रचार गरिएको टिसर्ट पनि वितरण गरिएको जानकारी गराउनुभयो । विषेशगरी गलगाँड आउने, अपाङ्गता हुने, हातखुट्टा लुलो हुनेजस्ता समस्या आउने भएकाले आयोडिन मिसाएको नुन खानुपर्छ ।

अघिल्लो वर्ष आयोडिनयुक्त नुनको नाउँमा आयोडिनशून्य भएको नुनसमेत यहाँ बिक्री भएको, तोकिएको मूल्यभन्दा महङ्गोमा बेचिएको भेटिएको थियो । नामै नसुनेका कम्पनीले बेचेका त्यस्ता नुनबाट स्थानीय बासिन्दा ठगिएकाले सचेतना अभियान चलाउनुपरेको उहाँले बताउनुभयो । आयोडिन नुन नभएकै कारण घरघरमा अपाङ्गता भएका व्यक्ति धेरै भेटिएको गुनासो पनि आएको थियो । नक्कली कम्पनीले जनतालाई ठग्ने र आयोडिन खानबाट बञ्चित गर्न नदिन विद्यालय तहका बालबालिका सचेत बन्नुपर्ने उहाँले बताउनुभयो ।

बालबालिका सचेत भएमा अभिभावकलाई पनि घरघरमा पुगेर सचेत बनाउन सक्ने उहाँको भनाइ छ । तमानखोला गाउँपालिकाको वडा नं ५ खुङ्खानी र ६ को नर्जाखानीमा यो समस्या बढी भएको भेटेपछि चासो बढाउन अभियान लागिएको वडाध्यक्ष हिराबहादुर रसाइलीले बताउनुभयो । अभियानमा शान्ति मावि व्यवस्थापन समितिका अध्यक्ष हेमन्त नेपाली, स्वास्थ्यचौकी इन्चार्ज दीपक पौडेललगायतले पनि आयोडिनको महत्वबारे स्थानीयवासीलाई बताउनुभएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !