१४ बैशाख २०८१, शुक्रबार

लुकाए ज्यान जान्छ : क्यान्सर विजेता


क्यान्सर

१० माघ, चितवन । पाठेघरको मुखको क्यान्सर निको भएका बिरामीले रोग लुकाउन नहुने बताएका छन् । भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बुधबार यहाँ आयोजना गरेको पाठेघरको मुखको क्यान्सर विजेताहरुको जमघटमा सहभागी महिलाले सो कुरा बताएका हुन् ।

माडी नगरपालिका–७ कीर्तनपुर निवासी ४६ वर्षीया गोमालक्ष्मी आचार्यलाई विसं २०७२ माघमा पाठेघरको मुखमा क्यान्सर देखिएको थियो तर अहिले उहाँलाई यो रोग निको भएको चिकित्सकले बताएका छन् । आफूमा रोग देखिँदै गर्दा महीनावारी हुने समयभन्दा अगाडि नै रगत आउने, पेट दुख्ने, पिसाब गन्हाउने भएपछि अस्पताल आएको आचार्यले बताउनुभयो । समयमै अस्पताल आएकाले रोग पत्ता लागेर नियमित चिकित्सकको सल्लाहअनुसार उपचार गर्दै जाँदा अहिले पुरै निको भएको भन्दैे नयाँ जीवन पाएकोमा उहाँ खुशी हुुनुहुन्थ्योे ।

उपचारका क्रममा बाहिरी सेकाइ २३ पटक र भित्री सेकाइ तीन पटक गरेको बताउँदै आचार्यले समस्या लुकाएर बस्नुभन्दा चाँडो समाधान गर्दा जितिने बताउनुभयो । पहिला आफूलाई क्यान्सरका बारेमा केही जानकारी नभए पनि रोग देखिएपछि हरेश नखाइ उपचार गर्दा निको भएको जानकारी दिँदै उहाँले भन्नुभयो, “रोग लागेपछि लुकाएर बसेको भए म आज यहाँ हुन्थे कि हुन्थिनँ तर अहिले सबैका अगाडि छु ।” रोग लागेको थाहा भएपछि परीक्षण गरे क्यान्सरजस्तो रोग पनि निको हुने उहाँको भनाइ थियो ।
भरतपुर महानगरपालिकाको फूलबारी निवासी ७० वर्षीया खुमाया आले समयमै यो रोगबार थाहा हुँदा आफू बच्न सकेको बताउनुभयो । आलेलाई आजभन्दा चार वर्षअघि पाठेघरको मुखको क्यान्सर देखिएको थियो । शुरुमा त उहाँ डराउनुभयो । अब मरिन्छकि भन्ने पनि भयो तर उपचारका क्रममा निको हुँदै गएर अहिले आनन्द भएको उहाँले बताउनुभयो ।

“रोग लुकाएको भए यो बूढी बाँच्थी की बाँच्थिन” उहाँले हाँस्दै भन्नुभयोे, “समयमै उपचार पाएकाले मैले क्यान्सर जिते ।” शुरुमा सेतो पानी बग्ने, खानेकुरामा गन्ध आउने, आँखा तिरमिराउने, खुट्टा झमझमाउनेजस्ता लक्षण देखिए पनि अहिले त्यो नरहेको आलेले बताउनुभयो । सुन्दा डर लाग्ने रोग भए पनि समयमै उपचार गरे निको हुँदोरहेछ भन्दै उहाँले आफ्नो समस्या लुकाएर नराख्न सबैलाई आग्रहसमेत गर्नुभयो । गाउँ छिमेकमा पनि केही समस्या देखिए अस्पताल जान आफूले सुझाव दिँदै आएको जानकारी दिँदै उहाँले रोग लाग्यो भनेर चिन्ता लिने हो भने चितामा पु¥याउने हुँदा रोग लागेपछि उपचारमा लाग्नु उत्तम रहेको बताउनुभयो ।

भरतपुर महानगरपालिका–१२ बसोबास गर्दै आउनुभएकी ४९ वर्षीया देवीकुमारी तामाङ अहिले पहिलेको जसरी नै घरमा काम गर्दै आउनुभएको छ । उहाँलाई गत वर्ष भदौमा पाठेघरको मुखको क्यान्सर देखिएको थियो । अहिले रोग निको भएको छ ।

आफू बिरामी हुँदा गाउँलेले आश्वासन दिनुभन्दा पनि अब बाँचिदैन भन्ने गरेको सम्झिदै उहाँले भन्नुभयो, “समयमै रोग पहिचान भयो भने निको हुँदोरहेछ । कसैले पनि रोग लुकाएर नराख्नुस् । रोग लुकाएर राखे ज्यान गुमाउनुपर्छ ।” आफू बिरामी हुँदा घरपरिवारको सहयोग मिलेको बताउँदै उहाँले परिवार पनि सहयोगी भए जस्तोसुकै रोगबाट बच्न सकिन्छ भन्नुभयोे ।

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले पाठेघरको मुखको क्यान्सर निको हुने रोग भएकाले यसबारे जनचेतना अभिवृद्धि गर्नु आवश्यक रहेको जानकारी दिनुभयोे । महिलामा सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सर देखिए पनि समयमै उपचार गरे निको हुने उहाँको भनाइ थियो । समाजमा खतराको सम्भावना बोकेर बस्नु भएका दिदीबहिनीलाई चेतनाको खाँचो रहेको आचार्यले बताउनुभयो ।

अस्पतालको क्यान्सर रोगथाम, नियन्त्रण तथा अनुसन्धान विभाग प्रमुख भोला सिवाकोटीले अस्पतालमा सन् २०१७ मा चार हजार ९७५ नयाँ क्यान्सरका बिरामी थपिएकामा ५४४ लाई पाठेघरको मुखको क्यान्सर देखिएको बताउनुभयो । उहाँका अनुसार सन् २०१६ मा चार हजार ७७५ मध्ये ६०५ मा यो समस्या देखिएको थियो भने सन् २०१५ मा चार हजार ५८१ बिरामीमध्ये ५४४ लाई क्यान्सर देखिएको थियो । विकासोन्मुख देशमा यो रोग बढ्दो छ ।

तातो तेलले पोलिएकी बालिकाको निःशुल्क उपचार

नवलपुरको गैँडाकोटमा तातो तेल पोखिएर घाइते भएकी बालिकाको चितवन मेडिकल कलेजले निःशुल्क उपचार गर्ने भएको छ । माघे सङ्क्रान्तिका दिन आमा विष्णुमाया पौडेलले ठेलामा मःमः तार्दै गर्दा तेल पोखिएर उहाँकी २२ महीनाकी छोरी सिम्रन पौडेल सख्त घाइते भएकी थिइन् ।

बालिकाको टाउको र शरीरमा तेलले पोलेको थियो । गैँडाकोटमा डेरा गरी बस्दै आएका सिम्रनका बुवा कृष्ण पौडेल र आमा विष्णुमायाको आर्थिक अवस्थालाई दृष्टिगत गरी अस्पतालले उपचार निःशुल्क गरेको हो । सिम्रनको उपचारका लागि अस्पतालमा भएका सम्पूर्ण सेवा निःशुल्क गरिएको अस्पतालका प्रबन्ध निर्देशक डा हरिशचन्द्र न्यौपानेले बताउनुभयो । बालिकाको उपचारका लागि औषधिबाहेकको सबै सेवा अस्पतालले निःशुल्क गरेको छ । उहाँले करीब डेढ महीना उपचार गर्न लाग्ने बताउनुभयो ।

उपचारमा रु छ÷सात लाख लाग्ने अनुमान भएको तर सामाजिक सञ्जाल प्रयोग गरेर बालिकाको उपचारका लागि सहयोग जुटाउनुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो । स्थानीय कालिका एफएम र टेलिभिजनले सन्देश प्रवाह गरी औषधिका लागि रकम जुटाइदिएको छ । कालिका एफएमका स्टेशन म्यानेजर प्रकाश आचार्यले बालिकाको औषधिका लागि रु एक लाख ३० हजार ७८८ सङ्कलन गरी परिवारलाई हस्तान्तरण गरेको बताउनुभयो । औषधिमा खासै खर्च नभएकाले सो रकमले पुग्ने आचार्यको भनाइ थियो ।

उक्त कलेजका प्लाष्टिक सर्जन डा बुद्धिनाथ अधिकारीको टोलीले उपचार गरिरहेको छ । बालिकाको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !