२३ बैशाख २०८१, आइतबार

कुकुर पाल्दा मुटुरोग, मधुमेह र डिप्रेशनबाट बच्न सकिने


कुकुर पाल्दा

काठमाडौँ । कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइएको छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने ‘श्याम’ र ‘सबल’ नामका कुकुरले सहजरुपमा बाटो छाडिदिने धार्मिक विश्वास छ ।

घरमा कुकुर पाल्नाले मुटु र मधुमेह जस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवश्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमा समेत स्थापित भएको छ । काग र कुकुरलाई यमदूतका रुपमा मानिन्छ ।

कुकुर हरेक मानिसको घरमा पाल्ने गर्छ । कुकुरलाई पनि आफ्नै परिवारको सदस्य जस्तै बनाएर पालेका हुन्छन् । कतिले कुकुर पाल्नलाई रुचाउँछन् भने कतिले मनपराउँदैनन् । तर पनि कुकुर आफ्नो घरमा पाल्दा भने फाइदा पक्कै छ ।

अमेरिकन हर्ट एसोसिएसनले गरेको एक अध्ययनले कुकुर पाल्ने मान्छेहरुमा मुटुरोगको सम्भावना कम हुने तथ्य बाहिर ल्याएको छ । उक्त अध्ययन अनुसार कुकुर पाल्ने परिवारमा हृदयाघात हुने सम्भावना कम रहेको देखाएको हो । यो सँगै अर्को संस्था बार्कपोस्टले घरमा कुकुर पाल्नुका फाइदाबारे वैज्ञानिक रुपमा प्रमाणित तथ्य सार्वजनिक गरेको छ ।

कुकुरसँग १५ देखि ३० मिनेट समय बिताउने मानिसमा तनाव घट्न गई खुसी बढ्ने हुन्छ । कुकरसँग खेल्नाले मानिसको मस्तिष्कमा खुशी र आनन्दसँग सम्बन्धित डोपामाइन र सेरोटोनिनको मात्रा बढाउँछ । यसले मानिसमा रहेको निराशा हटाउँन मद्दत गर्छ ।

कुकुरसँग खेल्दा र कुकुरलाई डोराएर हिँड्दा रक्तचाप घटाउन सहयोग पुग्छ । कुकुरलाई घरबाहिर लिएर जाँदा मानिसको पनि एक्सरसाइज हुन्छ। यसले गर्दा मुटुसम्बन्धी रोगहरुको जोखिम कम हुन्छ । कुकुरसँग खेल्दै हुर्किने बालबालिकालाई लुतो तथा छालामा हुने एलर्जीले सताउने सम्भावना निकै कम हुन्छ ।

कुकर पाल्नेहरुले कुकुरहरुसँग खेल्ने र काम गर्ने जिम्मेवारी पनि बहन गर्छन्, जसले गर्दा कुकुर पाल्ने व्यक्तिहरु तुलनात्मक रुपमा बढी सक्रिय हुन्छन् र दैनिकी पनि स्वस्थ हुन्छ । कुकुरको कारणले मानिसहरु एक्लोपना तथा तनाव (डिप्रेशन) बाट मुक्त हुन्छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !