१४ बैशाख २०८१, शुक्रबार

दमौली अस्पतालका जनरल वार्ड कोभिड कक्षमा रुपान्तरण


दमौली, २४ वैशाख । तनहुँको सदरमुकाममा रहेको दमौली अस्पतालले जनरल वार्डलाई कोभिड कक्ष बनाएको छ । कोरोना जोखिम बढेर सङ्क्रमित बढ्न थालेपछि अस्पतालले जनरल वार्डलाई कोभिड कक्ष बनाएको हो ।

उक्त ठाउँमा १६ श्ययाको व्यवस्थापन भइसकेको र त्यसलाई ३० श्यया बनाउने तयारी थालिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो । जनरल वार्डलाई भने इमर्जेन्सी सञ्चालित भवनको तीन कोठामा स्थानान्तरण गरिएको छ । त्यहाँ सात÷आठ श्यया तयारी गरिएको छ । “इमर्जेन्सी कक्ष नजीक स्वास्थ्यकर्मी सुत्ने र एआरटी कक्षलाई जनरल वार्ड बनाइएको छ”, अधिकारीले भन्नुभयो ।

कोभिड जोखिमका कारण अस्पतालले केही समयका लागि प्रसूतिको शल्यक्रिया गर्ने कार्य भने स्थगितको तयारी गरेको छ । “कोभिड सङ्क्रमण हुने जोखिम भएकाले केही समयका लागि प्रसूतिको काम मात्रै स्थगित गर्ने सोचमा छौं, अन्य सबै काम भने सुचारु नै हुन्छ”, अधिकारीले भन्नुभयो । अस्पतालले सुत्केरी वार्डलाई प्रशासन शाखामा र प्रशासन शाखालाई जिल्ला स्वास्थ्य कार्यालयको भवनमा स्थानान्तरण गरेको छ ।

अस्पतालले सात आइसियु र चार भेन्टिलेटरसहितको श्यया यसअघि नै तयार गरिसकेको छ । अस्पतालले स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा आइसियु र भेन्टिलेटर श्ययाको व्यवस्थापन गरेको हो । आइसियु र भेन्टिलेटरको व्यवस्था भएपछि अब कोभिडका गम्भीर प्रकृतिका बिरामीलाई पनि बाहिर पठाउनुनपर्ने अधिकारीले जानकारी दिनुभयो ।

अस्पताल परिसरमा अक्सिजन प्लान्ट निर्माण प्रक्रिया पनि शुरु गरिएको छ । गण्डकी प्रदेश सरकारले अक्सिजन प्लान्ट निर्माणका लागि चालु आर्थिक वर्षमा रु ७५ लाख बजेट उपलब्ध गराएको छ । उक्त प्लान्ट निर्माणका लागि टेन्डर प्रक्रिया पूरा भई सम्झौता भइसकेको छ ।

सुत्केरीलाई एम्बुलेन्स निःशुल्क

तनहुँको म्याग्दे गाउँपालिकाले सुत्केरी र कोभिड सङ्क्रमितलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । कोभिड जोखिमका कारण सुत्केरीलाई समस्यालाई पर्ने भएकाले गाउँपालिकाले सुत्केरीलाई निःशुल्क रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको हो ।

साथै कोभिड सङ्क्रमितलाई पनि एम्बुलेन्स सेवा निःशुल्क हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । गाउँपालिकाले दुई एम्बुलेन्स सञ्चालन गरेको छ । एउटा एम्बुलेन्स गाउँपालिका आफँैले खरीद गरेको हो भने अर्को सूर्य नेपाल प्रालिले उपलब्ध गराएको हो । ती एम्बुलेन्सले अन्य प्रकृतिका बिरामीका अतिरिक्त सुत्केरी र कोभिडका बिरामीलाई उच्च प्राथमिकता दिई सेवा उपलब्ध गराउनेछ भने कोभिड र सुत्केरीको हकमा मात्र अभिलेख राखी विना लागत निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय भएको अधिकारीले जानकारी दिनुभयो ।

यसैगरी व्यास नगरपालिकाले गर्भवती र जटिल बिरामीलाई घरबाट अस्पतालसम्म पु¥याउन एम्बुलेन्स सेवा निःशुल्क प्रदान गर्ने भएको छ । नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार वडा कार्यालयको संयोजनमा गर्भवती र जटिल बिरामीलाई अस्पतालसम्म पु¥याउन एम्बुलेन्स उपलब्ध गराइनेछ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !