७ बैशाख २०८१, शुक्रबार

स्वास्थ्यको लागि जमराको वैज्ञानिक महत्व


जमरा

श्रीमद्भागवत गीतामा भगवान श्रीकृष्णले पनि औषधिनामहं यवः अर्थात औषधीहरुमा म जौ हुँ भन्नु भएकाले पनि यसको महत्त्व पुष्टि हुन्छ । श्रीमदभागवत महापुराणमा पनि वामन अवताररुपी भगवान विष्णुको पूजा गर्दा लोकपालहरुले जमरा चढाएको प्रसंगबाट के बुझ्न सकिन्छ भने हिन्दु संस्कृतिमा जमराको महत्व परापूवकालदेखि नै थियो ।

हिन्दुहरुको महान चाड बडादशैंको पहिलो दिन दशैघरमा घटस्थापना गरी नदीको बालुवा राखेर जौ छरिन्छ । त्यसपछि नवरात्रभरि शक्तिको प्रतीक देवी दुर्गा भवानीको नौ विभिन्न स्वरुपको पूजा गरिन्छ । यसरी मातृशक्तिको आह्वान, आराधना गर्दै दशैं घरमा उमारिएको जमरा विजया दशमीको दिन आफ्ना कुल देवताहरुलाई अर्पण गरी प्रसाद स्वरुप टीका सहित लगाउने परम्परा छ ।

संस्कृतमा यव भनिने जौ निकै पौष्टिक खाद्यपदार्थ हो । जौलाई स्वास्थ्यका दृष्टिले पनि औषधी मानिन्छ । यसमा कार्बोहाइड्रेट, प्रोटिनका साथै विभिन्न भिटामिनहरु प्रशस्त्र मात्रामा पाइन्छ । त्यसैले जौँको सातु गाउँ र शहर जताततै चर्चित छ । वैदिक ग्रन्थहरुमा जौलाई रोग हटाउने यज्ञ-यज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्न अन्नका रुपमा लिइएको छ । यज्ञादिमा जौको प्रयोग प्रशस्त मात्रामा गरिन्छ । पौराणिक ग्रन्थहरुमा पनि यवोसि धान्यश भनेर जौलाई अन्नको राजा मानिएको छ ।

वैज्ञानिक दृष्टिले हेर्ने हो भने पनि जौको महत्व धेरै नै छ । आयुर्वेदिक ग्रन्थहरुमा जौ र अंकुरित जौबाट गर्न सकिने उपचारहरुको व्यापक उल्लेख भएको पाइन्छ । विविध रोगका लागि जौ उपयुक्त रहेको वैज्ञानिकहरुले पनि पुष्टि गरिसकेका छन् । चिकित्सकहरुका अनुसार सात वा नौ दिनको जमरा पिँधेर झोल बनाई नित्य सेवन गर्ने हो भने उच्च रक्तचाप, अर्वुद (क्यान्सर) एवं मधुमेहजस्ता रोगमा फाइदा मिल्छ ।

त्यस्तै जमराको झोलले पेटको रोग, छालाको रोग, वायुविकार जस्ता समस्या पनि हट्ने चिकित्सकहरु बताउँछन् । जमराको रसको सेवनले सौन्दर्यता समेत निखार ल्याउँछ । यसैगरी बिरामी भएर कमजोर भएका व्यक्तिहरुलाई जौबाट निर्मित खाद्यपदार्थ खुवाउनाले शरीरमा चाँडै शक्तिसञ्चार हुने कुरा विभिन्न अनुसन्धानले प्रमाणित गरिसकेका छन् ।

हाम्रो गाउँघरतिर अहिले पनि दशैँको जमरालाई सुकाएर राख्ने र ज्वरो आउँदा तथा पेट दुख्दा पानीमा उमालेर खाने चलन छ । अमेरिकी वैज्ञानिकहरुले गरेको अनुसन्धान अनुसार अंकुरित जौ सम्पूर्ण आहार र औषधीमध्ये सर्वोत्कृष्ट खाद्यपदार्थ हो । भारतीय चिकित्सकहरुले समेत जमराको प्रयोगबाट पेट, आन्द्रा, हाड एवं अन्य रोगहरुको सफल उपचार गरिसकेका छन् । अध्ययनहरुले अंकुरित जौँमा सागपात भन्दा पनि बढि पौष्टिक तत्व पाइने प्रमाणित गरिसकेका छन् ।

यसरी धर्मशास्त्रहरुमा अन्नको राजा भनिने जौँ धार्मिक र पौराणिक हिसाबाले मात्र होइन वैज्ञानिक हिसाबले पनि उत्तिकै महत्वपूर्ण छ । यस अर्थमा सम्बृद्धिको प्रतिक जमरा पनि मानव स्वास्थ्यका लागि हितकारी मानिन्छ । प्रशस्त औषधीय गुण पाइने हुनाले पनि अंकुरित जौलाई विजया दशमीको प्रसादका रुपमा प्रयोग ल्याइएको हुनुपर्छ ।

यो पनि पढ्नुहोस्

नवरात्रका ९ दिनहरुको वैज्ञानिक तथा धार्मिक महत्व


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !