नवरात्रका ९ दिनमा गरिने नवदुर्गा पूजाको वैज्ञानिक तथा धार्मिक महत्व Nepalpatra नवरात्रका ९ दिनमा गरिने नवदुर्गा पूजाको वैज्ञानिक तथा धार्मिक महत्व
१ कार्तिक २०७८, सोमबार

नवरात्रका ९ दिनमा गरिने नवदुर्गा पूजाको वैज्ञानिक तथा धार्मिक महत्व


नवदुर्गा

बडादशैं नेपालीहरुको महान चाड हो । दशै नेपालको वार्षिक क्यालेन्डरमा सबभन्दा लामो र सबैभन्दा धेरै शुभ पर्व हो, जुन देशभरिका सबै जाति र हिन्दु धर्मका नेपालीहरूले मनाउँछन् । राष्ट्रिय चाड दशैं हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म (नवरात्रभर) शक्तिको आराधना गरी दशौं दिन विहान दशमीका दिन आफूभन्दा ठुला मान्यजनहरुको हातबाट टीका-प्रसाद ग्रहण गरेर विशेष रुपमा पुर्णिमासम्म मनाउने गर्छन् । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ ।

हिन्दुहरुको महान् चाड दशैंको नवरात्रमा प्रतिपदादेखि नवमीसम्म नौवटी देवीहरु शैलपुत्री, व्रह्मचारणी, चन्द्रघन्टा, कुशमन्दा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजा-आराधना गरिन्छ । यी देवीहरूलाई नवदुर्गाको नामले पुकारिन्छ । नौ दिनसम्म नवदुर्गा भवानी नौवटा विभिन्न स्वरूपमा उपासकहरूलाई दर्शन दिनुहुन्छ भन्ने कथन छ ।

यसैले भक्तजनहरू आफ्नो मनको इच्छा पूरा हुने उत्कट अभिलाषाले यस नवरात्रमा नवदुर्गा अर्थात् माता भगवतीको नौ रूपको पूजाआरधना गर्बे गर्छन । विजयादशमीको दिन भगवतीले दानवी शक्तिमाथी र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्यमा र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन छ ।

१. पहिलो दिन – शैलपुत्री

नवरात्रको पहिलो दिन शैलपुत्री नामक दुर्गाको पूजा गर्ने परम्परा छ । पर्वतराज शैलराज हिमालयका पुत्रीका रूपमा उत्पन्न भएकीले यी भगवतीलाई शैलपुत्री भनिएको हो । पहाडकी छोरी भन्नाले यस शक्तिलाई पृथ्वीतत्वको प्रतीकको रूपमा लिन सकिन्छ । हाम्रो स्थूल शरीरको निर्माणमा पृथ्वी तत्वको विशेष स्थान रहेको छ ।

शैलपुत्रीको उपासना गर्नु भनेको प्रतीकात्मक रूपले सोही स्थूल शरीरको संरक्षणको प्रयास हो भनेर बुझ्नुपर्ने हुन्छ । घटस्थापनामा जमरा राख्ने गरिन्छ । जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।

२. दोस्रो दिन – ब्रह्मचारिणी

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी शक्तिको उपासना हुन्छ । ब्रहृम शब्दको अर्थ तपस्या हुन्छ। यसैले तपको आराधना गर्ने देवी भनेर यिनलाई ब्रहृमचारिणी भनिएको हो । यी देवीको उपासना गर्नाले मानिसमा तप, त्याग, वैराग्य, सदाचार, संयम वृद्धि हुँदै जान्छ र उसलाई सर्वत्र सिद्धि एवं विजय हात लाग्दछ ।

ब्रह्मचारिणी भनेको ब्रह्मचर्य अर्थात् मेधा शक्तिको प्रतिनिधि स्वरूप हो । शरीरलाई मौसम अनुसार स्वस्थ रहन सदैव ब्रह्मचर्यको कति आवश्यकता पर्दछ भनिरहन पर्दैन । ब्रह्मचारिणी शक्तिको उपासनालाई सोही मेधाशक्ति संरक्षणको प्रयासको रूपमा लिइन्छ ।

संसारका मुमुक्षु प्राणीलाई सच्चिदाननद रुप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गामध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीको हातमा कमल, अक्षमाला र कमण्डलु बनाइनुपर्छ भन्ने विधान छ ।

३. तेस्रो दिन – चन्द्रघण्टा

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा शक्तिको उपासना हुने कुरो माथि प्रस्ट भइसकेको छ । शास्त्रानुसार हातको घण्टाको आवाजले राक्षसहरू डराउने भएकाले यिनको नाम चन्द्रघण्टा राखिएको हो । चन्द्रघण्टालाई शब्दशक्ति अर्थात् आकाश तत्वको प्रतीकको रूपमा लिन सकिने प्रशस्त आधार भेटिन्छ ।

यिनको उपासक पनि सिंहजस्तै पराक्रमी हुन्छन् । यिनको मुद्रा युद्धको लागि तत्पर भइरहेको जस्तो देन्छि यिनको ध्यान, आराधना र उपासना गर्नाले भूत, प्रेत, बाधा आदिबाट रक्षा गर्छ र भक्तको सारा पाप एवं बाधा नष्ट भएर जान्छ ।

शरीरलाई व्यावहारिक बनाउन शब्दशक्तिको पनि त्यति नै आवश्यकता पर्दछ । रिसाहा स्वभाव भएकी यी देवीको पूजा गर्नाले घण्टाको ध्वनिको आवाज भक्तको कानमा परिहाल्छ । यी देवीको उपासना गर्दा परलोकका लागि कल्याण र सद्गति प्राप्त हुन्छ ।

चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुन्छ । चन्द्रघण्टा देवीबाट कृपा भए समग्र पाप नाश हुने देवीको वर्णन गरिएका विभिन्न पुराण एवं ग्रन्थमा व्याख्या गरिएको छ ।

चन्द्रघण्टाको उपासनाले पनि यथार्थमा यही नै वकालत गरिरहेको प्रस्टै अनुभूत गर्न सकिन्छ । चन्द्रघण्टालाई वैज्ञानिक दृष्टिले Sound अर्थात् सम्पूर्ण ध्वनि शक्तिको स्वरूप मानिन्छ ।

४. चौथो दिन – कुष्माण्डा

नवरात्रको चौथो दिन कुष्माण्डा शक्तिको उपासना हुन्छ । कुष्माण्डा भनेको कुभिण्डो अर्थात् वनस्पति जगतको प्रतिनिधि स्वरूप हो । सूर्यको जस्तो तेज भएकी र वाहन सिंह भएकी यी भगवतीको अट्टहासमा ब्रहृमाण्डको सृष्टि र प्रलय हुने भएकोले उनलाई कुष्माण्डा भनिएको हो ।

यस्तै आफ्नो मन्द मुस्कानद्वारा ब्रहृमाण्डको उत्पन्न गरेकोले यिनलाई कुष्माण्डादेवी भनिएको हो । यिनको उपासनाबाट मानिसको खाद्य आहार समग्र वनस्पति जगतलाई नै रसिलो, स्वादिलो र पोसिलो बनाउन खोजेको देखिन्छ ।

सम्पूर्ण ब्रह्माण्डमा व्याप्त सबै जीवित तथा निर्जीव तत्व यिनै देवीकै कृपाले उत्पन्न भएको हो पौराणिक मान्यता रहेको छ । उष्णता तथा शीतलातालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको बताइएको छ । यी देवीको भक्ति गर्नाले आयु, यश, बल एवं आरोग्य वृद्धि हुन्छ ।

यी देवी उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा, सर्प लगायतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ । कुष्माण्डालाई वैज्ञानिक दृष्टिले Chemical अर्थात् सम्पूर्ण रासायनिक शक्तिको स्वरूप मानिन्छ ।

५. पाँचौ दिन – स्कन्दमाता

नवरात्रको पाँचौ दिन स्कन्दमाता शक्तिको उपासना गरिने प्रावधान छ । कमलको फूल आसन भएकी, सेतो वर्ण, चार हात भएकी, स्कन्दकुमारकी माता भएकीले उनलाई स्कन्दमाता भनिएको हो।

स्कन्दमाताको सेवा गर्नाले स्वामी कार्तिकेयको पनि उपासना गरे सरह हुन्छ । यस्तो विशेषता केवल यिनीलाई मात्र प्राप्त छ । सूर्यमण्डलकी अधिष्ठात्री देवी भएको कारण यी देवीको पूजाआजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सुसम्पन्न हुने हुन्छन् ।

स्कन्दमाता भन्नाले वनस्पति जगतको पनि अधिष्ठात्री शक्ति भन्ने बुझिन्छ । यस्तो परिप्रेक्ष्यमा स्कन्दमाता शक्तिको उपासना भनेको सोही वनस्पति जगतको अधिष्ठात्री शक्तिलाई नै मजबुत बनाउने प्रयास नभएर के नै होला र । स्कन्दमातालाई वैज्ञानिक दृष्टिले Kinetic अर्थात् आकर्षण शक्तिको स्वरूप मानिन्छ ।

६. छैटौ दिन – कात्यायनी

छैटौ दिन पूजा हुने कात्यायनी शक्तिलाई विद्या तत्व मानिन्छ । सिंहवाहिनी कात्यायनीले महिषासुरको वध गरेको दुर्गा सप्तशतीमा आउँछ । चार हातमध्ये दुई हातमा तरवार, कमल पुष्प लिएकी र दुई हातले अभय र वरद मुद्रा प्रदर्शन गरेकी छिन्। यिनको आराधनाबाट सम्पूर्ण संकट नाश हुने विश्वास गरिन्छ ।

कात्यायनीलाई वैज्ञानिक दृष्टिले Nuclear अर्थात् ब्रह्माण्डीय सम्पूर्ण केन्द्र शक्तिको स्वरूप मानिन्छ ।

७. सातौं दिन – कालरात्री

सातौं दिन अर्थात् फूलपातीका दिन पूजा गरिने कालरात्री शक्तिलाई अज्ञान, अन्धकार र मोहनाशक शक्तिको रूपमा लिन सकिन्छ । यी देवीको स्मरण गर्नाले पनि दानव, दैत्य, राक्षस, भूतप्रेत भागेर जान्छन् भनिएको छ। जीवनलाई स्वस्थ र फुर्तिलो पारी सदैव अग्रगति प्रदान गर्न यी तत्वको आवश्यकता कति पर्दछ त्यो आफैंमा नै प्रस्ट छ ।

फूलपातीको प्रभावले घरभित्र रोग वृद्धिकारक जीवांश (भाइरस, ब्याक्टेरिया) र विभिन्न प्रकारका नकारात्मक कीटाणु तथा जीवाणु प्रभाव हट्ने जनविश्वास छ । कालरात्रिलाई वैज्ञानिक दृष्टिले Thermal अर्थात् तापशक्ति प्रसारणको स्वरूप मानिन्छ ।

८. आठौ दिन – महागौरी

नवरात्रिको आठौ दिन वा महाष्टमीका दिन पूजा गरिने महागौरीलाई बुद्घि तत्व मानिन्छ । यी देवीको शक्ति अमोघ छ र प्रत्यक्ष फल दिने हुन्छ । यी भगवतीको भक्ति आराधना गर्नाले भक्तजनहरूको सबै दोष नाश हुन्छ र पछिसम्म पनि बाधा आउन छोड्छ।

महागौरीलाई वैज्ञानिक दृष्टिले Light अर्थात् प्रकाश शक्तिको स्वरूप मानिन्छ ।

९. नवौं दिन – सिद्घिदात्री

नवरात्रको अन्तिम अर्थात् महानवमीका दिन पूजा गरिने सिद्घिदात्री शक्तिलाई गरिएको कामलाई सफल बनाउने शक्ति वा कार्य सफल भएको अवस्थाको प्रतीकको रूपमा लिन सकिन्छ ।

ब्रहृमाण्डमा पूरा विजय प्राप्त गर्न सक्ने शक्ति यी देवीमा रहेको छ । यिनी भक्तजनहरूलाई जुनसुकै सिद्धि पनि दिन सक्ने साथै इच्छा अनुसारको फल प्राप्त गराइदिने भएकी हुनाले उनको नाम सिद्धिदात्री रहन गएको हो ।

देवी पुराणअनुसार पार्वतीबाट आएको सिद्धि नै भगवान् शिवजीबाट आएको सिद्धि हो । यिनकै कृपाले गर्दा भगवान् शिव अर्धनारीश्वर हुनुभएको हो । यसैले यस संसारमा भगवान् शिव अर्धनारीश्वर नामले प्रसिद्ध छन् ।

आखिर विद्या र बुद्घिले समन्वित भई अज्ञानको अँध्यारोबाट माथि उठ्न सकिएको अवस्थामा नै काममा सफलता अर्थात् सिद्घि पाउन सकिने व्यावहारिक यथार्थकै कुरो पनि हो ।

महानवमीमा शक्तिस्वरुप सिद्धिदात्रीको पूजा गर्नाले सम्पूर्ण संसार नै जित्नसक्ने सिद्धता हासिल हुने र संसारमा केही कुरापनि अगम्य नहुने मान्यता छ । देवीपूराणमा उल्लेख भएअनुसार यिनै देवीको असिम कृपाका कारण शिवजी स्वंयले पनि सिद्धि प्राप्त गरेका हुन् ।

यिनको साधना गर्नाले यस लोक र परलोक दुवैतर्फ मोक्ष प्राप्त गर्ने विश्वाश छ र शक्तिस्वरुप सिद्धिदात्री प्रसन्न भएर वरदान दिएमा साधक साधीकाको कुनै पनि इच्छा बाँकी नहुने गरि सम्पूर्ण इच्छा पूरा गरिदिने भनि मार्केण्ड्य पूराणमा उल्लेखित छ । मार्कण्डेय पुराणका अनुसार अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व अनि वशित्व भनेर आठ वटा सिद्धत्वको ब्याख्या गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !