७ मंसिर २०८१, शुक्रबार

नगरपालिकाबाट बजेट निकासा नहुँदा अस्पतालको सेवा प्रवाहमा समस्या


district-hospidal-baitadi

कात्तिक २२,  बैतडी । दशरथचन्द नगरपालिकाले समयमा बजेट निकासा नगर्दा जिल्ला अस्पताल बैतडीले प्रदान गर्ने सेवा प्रवाहमा समस्या भएको छ । यसअघि अस्पताल विकास समितिकै खातामा आउने रकम दशरथचन्द नगरपालिकाको खातामा आएको र अहिलेसम्म बजेट निकासा नहुँदा अस्पतालमा औषधि, केमीकल लगायतका अतिआवश्यक सामानको अभाव भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीले बताए ।
जिल्ला अस्पताल र दशरथचन्द नगरपालिकाबीच समयमै समन्वय नहुँदा समस्या देखिएको हो । गत असोज २६ गते नै बजेट निकासका लागि नगरपालिकालाई पत्र लेखेको डा. अवस्थीले बताए । नगरपालिकाले विविध कारणले अझै बजेट निकासा गर्न सकिरहेको छैन । अस्पतालका लागि बजेट निकासा गर्न छिट्टै पहल गर्ने दशरथचन्द नगरपालिका वडा नं ४ का वडा अध्यक्ष मोहन चन्दले जानकारी दिए ।
कर्मचारी अभाव, निर्वाचन लगायतका कारणले समयमा बजेट निकासा हुन नसकेको उनको भनाइ थियो । अस्पतालमा देखिएको समस्या समाधानका लागि पहल गर्ने अस्पताल विकास समितिका अध्यक्ष रमेश भण्डारीले बताए ।
स्वास्थ्यको बजेट सबै स्थानीय तहहरुमा गईसकेपछि पहिलो चौमासिकमा कुनै पनि कार्यक्रम सञ्चालन नभएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई हतारमा स्थानीय तहमा हस्तान्तरण गर्दा समस्या आएको डा. अवस्थीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !