१४ बैशाख २०८१, शुक्रबार

रोग प्रतिरोधात्मक क्षमता बढाउने सरल तरिकाहरु


रोग प्रतिरोधात्मक क्षमता बढाउने सरल तरिकाहरु

रोग प्रतिरोधात्मक क्षमता बढाउने सरल तरिकाहरु । शरीरमा कुनै बाह्य रोगको संक्रमण होस् वा भित्री अंगहरुको खराबी आदि सबैमा रोगसँग लडेर शरीरलाई स्वस्थ्य बनाउने प्रणालीलाई रोग प्रतिरोधात्मक क्षमता भनिन्छ । इम्युनिटी पावर एवं रोग प्रतिरोधात्मक क्षमताले हाम्रो शरीरमा संभावित रोगको संक्रमणबाट रक्षा गर्छ । रक्तसञ्चार बढाउनाले प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ । रगत शरीरको सबैभन्दा महत्त्वपूर्ण भाग हो । रगतले पूरै शरीरमा न्युट्रियन्ट्स, इलेक्ट्रोलाइट्स, हार्मोन, हिट र अक्सिजन पुर्याउने काम गर्छ ।

हरेक जीवित मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता नामको यस्तो संयन्त्र हुन्छ, जसले ब्याक्टेरिया, भाइरस आदिबाट शरीरलाई टाढा राख्छ । जब मानिस मर्छ, तब उनको रोग प्रतिरोधात्मक क्षमता पनि नष्ट हुन्छ । औषधी खाएर वा उपचार गरेर मात्र सबै रोगबाट छुटकारा पाइदैन । यी त कृतिम विधी हुन् । प्राकृतिक विधीबाट रोगमुक्त जीवन पाउनका लागि शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनुपर्छ । तर, कसरी ?

रोग प्रतिरोधात्मक क्षमता बढ्नु भन्नाले हाम्रो शरीरमा विभिन्न रोग लाग्न नदिनु हो । यदि हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता कम्जोर छ भने हामीलाई विभिन्न खालका रोगहरुले सजिलैसँग असर गर्ने गर्छन् । त्यसैले हामीले हाम्रो रोग प्रतिरोधात्मक क्षमता कम्जोर हुन नदिनको लागी हाम्रो दैनिक खानपान र जीवनशैलीमा धेरै ध्यान पुर्याउनुपर्ने हुन्छ । रोग प्रतिरोधात्मक क्षमता बलियो नहुइन्जेलसम्म हाम्रो शरीरको बिकास राम्रोसँग हुन पाउदैन ।

कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरुमा यस्ता रोगको संक्रमण छिटै हुने गर्छ । शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भयो भने मानिसलाई रुघाखोकी लगायत जुनसुकै रोगले पनि चाँडै आक्रमण गर्छ । यसकारण हामीले आफ्नो रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन ध्यान दिनुपर्छ । यो बलियो भयो भने हतपत कुनै किटाणुले आक्रमण गर्न सक्दैन । त्यसकारण यस्ता रोगको संक्रमण नहोस् भन्नाका लागि सबैभन्दा पहिलो शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई मजबुत बनाउन जरुरी छ र शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई मजबुत बनाउन खासै कठिन पनि छैन । शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो बढाउने तरिकाहरु निम्न अनुसार छन् ।

तरिकाहरु

तरिका १. मर्निङ वा इभिनिङ वाक

आजभोलि मर्निङ अथवा इभिनिङ वाकमा जाने चलन धेरै प्रचलित छ । रोग प्रतिरोधात्मक क्षमता बढाउने यो एक उत्तम उपाय हो । आजको व्यस्त मानव जीवनशैलीले गर्दा मानिसलाई बाहिर एकैछिन निस्किने फुर्सद हुँदैन । यस्तो बानीले शरीरको रक्तसञ्चारमा कमी आउँछ । त्यसैले साँझ अथवा बिहान फुर्सद निकालेर अनिवार्य हिँड्नु अथवा दौडिनु आवश्यक छ । यसले शरीरलाई स्फूर्त राख्छ र शरीरमा रक्तसञ्चार पनि राम्ररी गर्छ ।

तरिका २. योग र प्राणायाम

योग र प्राणायामले शरीरलाई स्वस्थ राख्न र रोगबाट बचाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ । तर, योग अथवा प्राणायाम गर्दा कोही जानकार व्यक्तिसँग सिकेर मात्र नियमित अभ्यास गर्नु आवश्यक छ । यसले रक्तसञ्चार राम्रो हुनुका साथै प्रतिरोधात्मक क्षमतामा पनि राम्रो विकास गर्छ ।

तरिका ३. खानपान

मानिसको खानपानसँग स्वास्थ्यको सोझो सम्बन्ध हुन्छ । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सन्तुलित, पोषिलो र सुपाच्य खानेकुरा खानुपर्छ । दिनभरको खानामा सकेसम्म सबै किसिमको पोषक तत्व सामेल गर्नुपर्छ । हरियो र ताजा खानेकुरालाई प्राथमिकता दिनुपर्छ । अंकुरित अन्न, ड्राइ फ्रुट्स, फलफूल, सलाद, जुसको नियमित सेवन गरौ ।

तरिका ४. पौडी

पौडीलाई व्यायामको राजा नै मानिन्छ । पौडीले सम्पूर्ण शरीर सञ्चालन हुनुका साथै रक्तसञ्चार राम्ररी हुन्छ । यसले शरीरलाई तन्दुरुस्त राख्नुका साथै मस्तिष्कलाई पनि ताजा बनाउँछ । हामीले बटरफ्लाई स्ट्रोक, ब्याक स्ट्रोक आदि पौडीको विभिन्न विधि अपनाएर आनन्द पनि लिन सक्छौं ।

तरिका ५. सक्रिय जीवनशैली

विहान उठेपछि योग, प्राणायम, व्यायामबाट शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ । यी क्रियाले शरीर लचिलो, फुर्तिलो, बलियो हुन्छ । रक्त प्रवाह राम्ररी हुन्छ । श्वासप्रश्वास प्रक्रिया राम्ररी हुन्छ । मांशपेशी लचकदार हुन्छ । शरीरका भित्री अंगहरुको व्यायाम हुन्छ । मन शान्त हुन्छ ।

तरिका ६. साइक्लिङ

साइक्लिङले रक्तसञ्चार बढाउँछ । यसले खुट्टाको मांसपेशीलाई पनि कसिलो बनाउँछ । जसले कसरतमा त्यति ध्यान दिँदैनन् तिनीहरूको लागि यो राम्रो कसरत हुन सक्छ । हाम्रो शरीरमा रक्तसञ्चार राम्ररी भएमा प्रतिरोधात्मक क्षमता आफैं बढ्छ ।

तरिका ७. सकारात्मक मुड

तपाईंको मुडले पनि तपाईंको स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ । तपाईं जति धैरै प्रशन्न, जति धेरै उमंगीत, जति धेरै सकारात्मक हुनुहुन्छ, शरीर उत्ति नै राम्रो हुन्छ । उदास, निरास, गंभीर व्यक्तिहरु रोगको चपेटामा पर्छन् । त्यसैले जति धेरै मिजासिलो, जति धेरै खुसी, उत्तिनै रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ ।

तरिका ८. मसाज

मसाज अथवा शरीरको मालिस गर्नाले पनि रक्तसञ्चार राम्रो हुन्छ । मसाज गर्नाले शरीरमा स्फूर्ति र ताजापनको महसुस हुन्छ । यसले शरीरको थकान र तनावलाई हटाउन सहयोग गर्छ ।

तरिका ९. तुलसी

तुलसीले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ । तुलसी प्राकृतिक एन्टिबायोटिक हो । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन एकदम सहयोग गर्छ । हरेक दिन विहान ३ वा ४ वटा तुलसीको पात सेवन गर्नुपर्छ, फाइदा मिल्छ ।

तरिका १०. खुट्टालाई माथि उठाउनु

खुट्टालाई माथि उठाउनाले रक्तसञ्चार राम्ररी हुन्छ । यसले खुट्टाको दुखाइ हटाउनुका साथै शरीरलाई पनि आराम दिन्छ । कतिपय नियमित कसरत गरिरहने मानिसहरू टाउको तल र खुट्टा माथि राखेर शीर्षासन गर्ने गर्छन् । यो रक्तसञ्चारको लागि निकै राम्रो आसन हो ।

तरिका ११. तरल पदार्थ

शरीरलाई तरल पदार्थको आवश्यक हुन्छ । मानिसले खाने ठोस पदार्थको तीन गुणा बढी तरल पदार्थ सेवन गर्नुपर्छ । तरल पदार्थमा सादा पानी सही हुन्छ । दिनभरमा कम्तीमा दुई वा तीन लिटर पानी पिउनुपर्छ । त्यसका साथै जुस, सुप पिउनुपर्छ । कतिपय फलफूलमा पनि पानीको मात्रा अत्याधिक हुन्छ ।

तरिका १२. शारीरिक सफाई

रोग प्रतिरोधात्मक क्षमता बढाउन शारीरिक सफाई पनि उत्तिकै आवश्यक हुन्छ । सकेसम्म प्रत्येक विहान उठेर चिसो पानीले नुहाउनुपर्छ । नुहाउँदा टाउकोबाट सुरु गर्नुपर्छ । यसका साथसाथै मनलाई शान्त र आनन्दित तुल्याउनुपर्छ । मनको शान्तिका लागि प्राणायाम, ध्यान जस्ता विधी सर्वोत्तम हुन्छ । सकारात्मक सोंच चिन्तनले पनि रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ ।

तरिका १३. पानी

पानी प्राकृतिक औषधि हो । प्रशस्त मात्रामा पानी पिउनाले शरीरमा जम्मा भएको सबै प्रकारको विषालु पदार्थ बाहिर निस्किन्छ र यसले प्रतिरोधक क्षमता बढाउँछ । सामान्य तापक्रम भएको पानी अथवा मन्द तातो पानी स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । फ्रिजको पानीले भने स्वास्थ्यलाई हानि गर्ने हुनाले यसको प्रयोग नगर्नु नै राम्रो हुन्छ ।

तरिका १४. हसाई

हाँस्नाले शरीरमा भएका धेरै कोषिकाहरू खुल्छन् र रक्तसञ्चार राम्ररी हुन्छ । यसले शरीरमा अक्सिजन पनि प्रशस्त मात्रामा पुर्याउछ । तनावमुक्त भएर हाँस्नाले शरीरको प्रतिरोधात्मक क्षमता बढ्न निकै सहयोग गर्छ ।

यो पनि पढ्नुहोस् 

रोग लाग्नु भन्दा रोग नै लाग्न नदिनु राम्रो

मानिसलाई रोग लाग्नुका प्रमुख कारणहरू

रोग किन लाग्छ ? यस्ता छन् रोग लाग्नुको कारणहरु

रोग किन लाग्छ ? रोगको उपचार गर्दा ध्यान दिनुपर्ने कुराहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !