१४ बैशाख २०८१, शुक्रबार

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने नियमहरू


होम क्वारेन्टाइन

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने नियमहरू ! हाल विश्वभर फैलिएकाे काेराेना भाइरसबाट बच्नकाे लागि क्वारेन्टाइन महत्वपुर्ण मानिएकाे छ । कसैलाई कोरोना भाइरस संक्रमणको कुनै लक्षण देखिएको छैन, तर पनि संक्रमितको सम्पर्कमा आएको छ भने आफ्ना परिवारका सदस्यबाट छुट्टिएर घरकै एउटा कोठामा बस्नुलाई ‘सेल्फ क्वारेन्टाइन’ भनिन्छ । त्यस्तै, संक्रमणको अवस्था नियन्त्रणभन्दा बाहिर गैसकेको वा सरकारको स्रोत साधनले नधान्ने अवस्थामा रोगको लक्षण देखिन्छ या देखिँदैन भनेर चिकित्सकले निश्चित निर्देशन दिएर घरमै बस्न लगाउनु पनि ‘सेल्फ क्वारेन्टाइन’ हो । कोरोना भाइरसको लक्षण १४ दिनसम्म देखिन सक्छ, त्यसैले ‘सेल्फ क्वारेन्टाइन’मा सामान्यतः १४ दिनसम्म राखिन्छ । सेल्फ क्वारेन्टाइनमा बस्दा राज्यले निर्धारण गरेका नियमहरू पालना गर्नुपर्ने हुन्छ ।

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने नियमहरू

१. पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्ने, र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसंग कम्तिमा १ मिटरको दूरी राख्ने ।

२. छुट्टै बाथरूम /शौचालयको प्रयोग गर्ने र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्ने।

३. आफु बस्ने कोठा आफै सफा गर्ने ।

४. घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा आवात जावतलाई सीमित गर्ने । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको (वा झ्याल खुला रहने) सुनिश्चित गर्ने ।

५. स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर नजाने । काममा, विध्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा नजाने र सार्वजनिक यातायातको प्रयोग नर्गने ।

६. नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २० सेकेन्डसम्म धुने वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्ने । हात नधोइ आँखा, नाक र मुख छुनबाट जोगिने ।

७. प्रयोग गर्ने गिलास, कप, खाना खान प्रयोग हुने भाँडा, तौली/रुमाल, ओछ्यान, वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग नगर्ने । प्रयोग गरेपछि यी सामानहरू साबुन र पानीले सफासँग धुने ।

८. अन्य व्यक्तिहरूसँगको प्रत्यक्ष सम्पर्कलाई कम गर्न सक्दो प्रयास गर्ने ।

९. यदि अन्य व्यक्तिहरूसँगको सम्पर्कमा आउनु पर्दा, कम्तिमा १ मिटर (३ फिट) को दूरी राख्ने र अर्को व्यक्तिसंग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउने ।

१०. खोक्दा वा हाच्छिउँ गर्दा मुख र नाकलाई टिस्यु, रुमाल वा कुहिनाले छोप्ने ।

११. आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठांउमा फाल्ने र फाले पछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्मका लागि अफ्ना हातहरू साबुन र पानीले मिची मिची धुने । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासंग धुने र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र पुन प्रयोग गर्ने ।

१२. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्ने र आवश्यक सहयोगको लागि सधैं तयार रहने ।

१३. क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक रुपमा जाच्ने र दिईएको फाराममा रेकर्ड गर्ने । दिईएको निर्देशन अनुसार १४ दिनसम्म दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिने ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायबाट प्राप्त निर्देशनहरू अनुरूप गर्ने ।

१५. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा नगर्ने ।

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने नियमहरू

Source : NEOC


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !