१२ जेष्ठ २०८१, शनिबार

वामपन्थी नेता अधिकारीको निधन


भरतपुर, २२ असार । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारीको निधन भएको छ । नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि काठमाडौँमा उपचाररत् अधिकारीको आज निधन भएको हो ।

अधिकारीकी बहिनी पत्रकार शान्ता अधिकारीका अनुसार सघन उपचार कक्षमा उपचाररत् अधिकारीको राति ८ः०२ बजे निधन भएको हो । स्व नेता अधिकारीको सोमबार अन्तिम श्रद्धाञ्जलीसँगै अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

गएको पुस २७ गते विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा भर्ना हुनुभएका उहाँलाई वैशाख २२ गते थप उपचारका लागि हरिसिद्धि लगिएको थियो । उहाँको फोक्सोमा देखिएको क्यान्सर फैलिएर टाउकोसम्म पुगेको र शरीरको कम्मरमुनिको भागमा पक्षघातसमेत भएको थियो । नेता अधिकारीलाई शनिबार साँझ पार्टीका महासचिव मोहन वैद्य किरणले अस्पताल पुगेर भेट गर्नुभएको थियो भने आइतबार नेता नारायणकाजी श्रेष्ठ, सिपी गजुरेल, पूर्णकुमारी श्रेष्ठलगायतका नेताहरुले भेट गर्नुभएको थियो ।

विसंं २०१२ साउन गते हालको अजिरकोट गाउँपालिका–३ गोर्खामा जन्मिएका अधिकारी विसंं २०३२ देखि कम्युनिष्ट आन्दोलनमा लाग्नुभएको थियो । माओवादी पार्टी विभाजनसँगै वैद्य नेतृत्वमा लागेका उहाँलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, गृहमन्त्री रामबहादुर थापालगायतले अस्पताल पुगेर स्वास्थ्य लाभको कामनासहित सहयोगका लागि आश्वासनसमेत दिनुभएको थियो । अधिकारीका छोरा नारायण उक्त पार्टीको गोर्खा जिल्ला इञ्चार्ज र बुहारी सुशीला थापा पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !