५ जेष्ठ २०८१, शनिबार

स्वच्छ वातावरण प्राथमिकतामा : मन्त्री बस्नेत


Shakti Bahadur Basnet

१८ जेठ , काठमाडौँ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आमनागरिकका लागि स्वच्छ वातावरण बनाउने कार्य सरकारको विशेष प्राथमिकतामा रहेको बताउनुभएको छ ।

विश्व वातावरण दिवसका अवसरमा मन्त्रालयद्वारा आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले स्वच्छ वातावरणका लागि वातावरण ऐनलाई प्रभावकारीरूपले कार्यान्वयनमा ल्याउन यसका केही प्रावधान पुनरावलोकनसमेत गरिने बताउनुभयो ।

वातावरण र विकासलाई सन्तुलन गरी मन्त्रालयका कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री बस्नेतले स्वच्छ वातावरणका लागि जनचेतनामूलक कार्य गर्ने मात्र होइन आवश्यक परे हस्तक्षेपकारी भूमिका पनि निर्वाह गर्नेमा जोड दिनुभयो ।

वन सचिव डा विश्वनाथ ओलीले यही जेठ २२ गतेको विश्व वातावरण दिवसका पूर्वसन्ध्यामा मन्त्रालयले साताव्यापी कार्यक्रम गरिहेको जानकारी गराउँदै मुलुकभर नेपाल स्वच्छ वातावरण महाअभियान, २०७५ प्रभावकारी रुपमा सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्रालयले मुलुकका सबै शहरमा जनताले अनुभूत गर्न सक्ने गरी प्रदूषण नियन्त्रण, सरसफाइ र फोहरमैला व्यवस्थापन गर्दै शहरको खाली भागमा हरियाली प्रवद्र्धन गर्ने लक्ष्यका साथ महाअभियान शुभारम्भ गरेको हो ।

वनस्पति विभागका उपमहानिर्देशक मोहनदेव जोशीले महाअभियान र त्यसले पार्ने सकारात्मक प्रभावका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । महाअभियानअनुसार आगामी एक वर्ष भित्रमा सबै स्थानीय तहका खाली जग्गामा कम्तीमा पाँच प्रतिशत हरियाली कायम गरिने, सबै स्थानीय तहमा न्यूनतम् एउटा नमूना उद्यान स्थापना गरिने मन्त्रालयको अपेक्षा छ ।

काठमाडौँ उपत्यकालगायत देशभरका सबै शहरमा दैनिक उत्सर्जन हुने फोहोरमा २० प्रतिशतले कमी ल्याइने, व्यक्ति र संस्थाहरुमा आफनो फोहोर आफैँ व्यवस्थापन गर्ने प्रणालीको विकास गरिने, देशभरमा ५० प्रतिशत प्लास्टिक झोलाको प्रयोगमा कमी ल्याइ विकल्पमा कपडा र कागजका झोलाको प्रयोग गरिने मन्त्रालयले जनाएको छ ।

महाअभियानबमोजिम शहरी क्षेत्रमा निर्माण भइरहेका सम्पूर्ण सडक कालोपत्र भई सडक धुलोमा कमी आउने, सडक, ट्राफिक व्यवस्थापन तथा विद्युतीय ठूला सवारी साधनको प्रवद्र्धनबाट शहरी धुलो र जोखिमपूर्ण मसिनो धुलोको मात्रामा कम्तीमा ३० प्रतिशतले कमी आउने मन्त्रालयको दाबी छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !