७ बैशाख २०८१, शुक्रबार

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सदस्यलाई स्पष्टीकरण पेस गर्न निर्देशन


शेरधन राई

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने प्रदेशसभा सदस्यलाई स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ को संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने सदस्यलाई तत्काल प्रस्ताव फिर्ता गरी २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशनसहितको पत्र पठाउनु भएको हो ।

संसदीय दललाई जानकारी गराउनुभन्दा पहिले नै प्रदेश सभा सचिवालयमा ३७ सदस्यले आइतबार मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउनुभएको थियो । संसदीय दलमा छलफल नगरी पहिले नै प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएकाले प्रस्ताव फिर्तासहित स्पष्टीकरण पेस गर्न पत्र पठाएको प्रमुख सचेतक राजभण्डारीले बताउनुभयो ।

संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले आज पठाउनुभएको पत्रमा आफ्नो दल र दलका नेतालाई जानकारी नदिई दलका सदस्य इन्द्रबहादुर आङ्बो प्रस्तावक र दलका सदस्य लछुमन तिवारी समर्थक भई तपार्इंहरुको समेत हस्ताक्षरमा मिति २०७७÷०९÷१२ गते बिहान १०ः५५ बजे आफ्नै दलका नेता र मुख्यमन्त्रीविरुद्व अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गर्नुभएको कुरा जानकारीमा आएकाले नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, प्रचलित कानूनी व्यवस्था तथा पार्टीको संसदीय दलको विधान २०७६ को भाग ६ दफा २४ को (क) (ख) (ग) (च) (छ) आकर्षित भई विधानको दफा २६ (ग) को देहाय (१) (२) (४) र (५) बमोजिम तपाईंलाई कारबाही किन नगर्ने ? उल्लेख छ । त्यस्तै पत्र प्राप्त भएको २४ घण्टाभित्र उक्त अविश्वासको प्रस्ताव फिर्ता लिई लिखित स्पष्टीकरण पेस गर्न दलका नेताको निर्देशनबमोजिम निर्देश गरिएको पत्रमा उल्लेख छ ।

अन्यथा संविधान, राजनीतिक दलसम्बन्धी ऐन, कानून र दलको विधानबमोजिम कारबाही भई जाने व्यहोरा अवगत गराउँदछु, सचेतक राजभण्डारीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !