१९ बैशाख २०८१, बुधबार

बगान समाज परिवर्तन गर्ने चलचित्र हो : उपसभामुख राना


इन्दिरा राना

काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले समाज परिवर्तनमा पुरुष भूमिका विशेष हुने बताइन् । हिजो बुधबार साँझ आयोजित चलचित्र ‘बगान’ को विशेष प्रदर्शनीमा सहभागी हुँदै उनले उक्त चलचित्रमार्फत एकल आमाको कथा, सङ्घर्ष, दायित्वसँगै परिवार र समाजबाट खोज्ने साथलाई देखाइएको बताइन् ।

“एकल आमाको भावनालाई चलचित्रमार्फत समाजसम्म पुर्याउने प्रयाश गरिएको छ । समाज मात्र नभई आफ्नै परिवारबाट सहयोग नपाउँदा जीवन यात्रामा भोग्ने कठिनाई चलचित्रमार्फत उजार गरिएको छ”, उपसभामुख रानाले भनिन् । समाज रूपान्तरणमा पुरुषले महिलालाई साथ दिने मात्र नभई परिवर्तनकारी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।

“एकल आमाले नयाँ जीवन बाँच्न पाउनुपर्छ भन्ने तथ्यलाई प्रस्ट्याउँदै यसले समय परिवर्तन गर्न भूमिका खेल्छ”, उनले भने ।

विशेष प्रदर्शनीमा चलचित्र ‘बगान’ हेर्न राजनीतिज्ञसँगै कलाकर्मी उपस्थित थिए । चलचित्र हेरेपछि अभिनेता रमेश उप्रेतीले आफूले केही दृश्यमा आँसु रोक्न नसकेको प्रतिक्रिया दिए । उनले भने, “यसमा कथ्यशैलीसँगै हरेक कलाकार आफूलाई सुहाउँदो भूमिकामा प्रस्तुत हुनुभएको पाए । अभिनेता सरोज खनालको भूमिका महत्वपूर्ण रहेको पाए ।”

अभिनेत्री करिश्मा मानन्धरले चलचित्रको कथा मन परेर नै अभिनयसँगै निर्माणमा सहकार्य गरेको बताइन् । “यसमा मेरो र मेरो आमाको कथासमेत पाइन्छ । यसले समाज र परिवारको कारण आफूलाई स्वतन्त्र हुनबाट रोकिरहेका एकल आमालाई जीवन बाँच्ने प्रेरणा दिन्छ । म प्रतिनिधि पात्र मात्र हुँ ।” उनले दर्शकलाई परिवारका साथमा चलचित्र हेर्न आग्रह गरिन् ।

यसै चलचित्रमार्फत अभिनयको सुरुआत गरेकी अभिनेत्री प्रमिला कार्कीले पहिलो दर्शक नै चलचित्रकर्मी बन्दा उत्साह र डर दुवै रहेको बताइन् । उनले भनिन्, “निकै हिम्मत जुटाएर अग्रज कलाकारसँग बसेर आफूलाई पर्दामा हेरें । उहाँहरूले दिनुभएको प्रतिक्रियाले उत्साहित छु ।”

चलचित्रका गीतकार सुरेश वाग्लेले कथालाई अगाडि बढाउन गीतले भूमिका खेलेको बताए । तीन दशकको अभिनयको अनुभव सङ्गाल्दै निर्देशक बनेका अभिनेता खनालले आफूलाई कथावाचक भन्न रुचाए । उनले भने, “मैले त कथा र पात्रलाई भेट गराए । बाँकी काम उहाँले नै गर्नुभयो । यसलाई स–परिवार हेर्न म आग्रह गर्दछु ।”

चलचित्रमा आकाश श्रेष्ठ, नीर शाह, वसुन्धरा भुसाल, मिथिला शर्मालगायतका कलाकारको अभिनय रहेको छ । स्वप्निल नीरवको कथामा तयार भएको उक्त चलचित्रमा गौरीशङ्कर धुजुले छायाङ्कन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायाङ्कन, सन्देश शाहले सम्पादन तथा रेनिश फागोले रङ्ग संयोजन गरेका छन् । सो चलचित्र यही असार २९ गतेदेखि प्रदर्शन हुँदैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !