२१ बैशाख २०८१, शुक्रबार

पल शाह प्रकरण : नाबालिग गायिकाले बयान फेरेसंगै नयाँ ट्वीस्ट


पल शाह

काठमाडौं । अभिनेता पल शाहसंग सम्वन्धित बलात्कार घटनामा नाबालिग गायिकाले बयान फेरेसंगै नयाँ ट्वीस्ट आएको छ । पीडित भनिएकी नाबालिग गायिकाले अदालतमा बकपत्र दिने क्रममा पलले बलात्कार नगरेको भनेर बयान दिएपछि उक्त प्रकरणमा नयाँ ट्वीस्ट आएको हो ।

पलविरुद्ध जबरजस्ती करणीको मुद्दामा नाबालिग गायिकाले अदालतमा बयान फेरेकी हुन् । आज अदालतमा बकपत्र दिने क्रममा उनले जाहेरीमा उल्लेखित विवरणहरू असत्य भएको समेत बताएकी हुन् ।

आज आइतबार जिल्ला अदालत तनहुँमा बयानको क्रममा नाबालिग गायिकाले प्रहरीले जबरजस्ती आफूलाई हस्ताक्षर गर्न लगाएको तथा उजुरी दिनका लागि दबाब दिएको भनेर बयान दिएको स्रोतले बताएको छ । नाबालिग गायिकाको अहिले पनि अदालमा बकपत्र चलिरहेको छ ।

उनले आफूले अरूको उक्साहटमा परेर जाहेरी दिन पुगेको जिकिर समेत गरेकी छन् । यद्यपि जाहेरीकर्ताका बुवाको भने बकपत्र लिन अझै बाँकी रहेको छ । नाबालिग गायिका होस्टाइल बनेसँगै मुद्दामा ट्विस्ट आएको छ भने उनको बकपत्रले पल शाहको पक्ष र समर्थकमा खुसीयालीको किरण समेत छाएको छ ।

१६ वर्षभन्दा कम उमेरकी नाबालिग गायिकालाई बलात्कार गरेकोको भन्दै शाहलाई १२ देखि १४ वर्षसम्म माग दाबी गर्दै तनुहँ र नवलपुर दुबै अदालतमा मुद्दा दायर भएको थियो । दुबै अदालतले शाहलाई पुर्पक्षका लागि जेल चलन गर्ने आदेश दिएपछि उनी हाल तनहुँ कारागारमा रहेका छन् ।

गत फागुन ११ गते गायिका समेत रहेकी नाबालिग एक बालिकाले शाहविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता गरेपछि शाहले फागुन १५ गते प्रहरीमा आत्मसमर्पण गरेका थिए । प्रहरीले शाहलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

उनीविरुद्ध तनहुँपछि चैत ३ गते नवपुरमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो । यद्यपि बयान फेरेको अवस्थामा अदालतले ६ वर्ष कैद गर्ने कानूनी व्यवस्था रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !