२१ बैशाख २०८१, शुक्रबार

नवलपुर जिल्ला अदालतमा अभिनेता पल शाहको थुनछेक बहस जारी


पल शाह

नवलपुर । नवलपुर जिल्ला अदालतमा अभिनेता पल शाहको थुनछेक बहस जारी रहेको छ । अभिनेता शाहलाई थुनछेक बहसका लागि हिजो नवलपुर ल्याइएको थियो ।

आज बुधबार उनका ९ जना वकिलले बहस गरिरहेका हुन् । आज शुरूमा सरकारी वकिलको तर्फबाट बहस भएको थियो भने सोपछि शाहको तर्फबाट ९ जना वकिलहरूको बहस जारी रहेको नवलपुर जिल्ला अदालतका वैतनिक वकिल दिपक भट्टराईले नेपालपत्रलाई जानकारी दिए । ।

एक नाबालिग किशोरी गायिकालाई जबरजस्ती करणी गरेको मुद्दामा जिल्ला कारागार तनहुँमा रहेका शाहलाई बहसका लागि परिपत्र आएपछि हिजो नवलपुर जिल्ला अदालत ल्याइएको थियो ।

तनहुँ प्रहरी हिरासतमा रहेका शाहलाई हिजो जिल्ला अदालत नवलपुरमा ल्याएर बयान लिइएको थियो । हिजो मंगलबार जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले करिब ६ घण्टा लगाएर पलको बयान लिएको थियो । बयान लिएर शाहलाई हिजो जिल्ला प्रहरी कार्यालय नवलपुरमा नै राखिएको थियो ।

१७ वर्षिय नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा नवलपुरको जिल्ला अदालतमा मुद्दा दायर गरिएका अभिनेता शाहको बयान हिजै सकिएको थियो । हिजो अदालतका इजलास अधिकारीले उनको बयान लिएका थिए ।

अभिनेता शाहले एक वर्षअघि गैंडाकोटमा गीतको सुटिंकका क्रममा एक किशोरीलाई मादक पदार्थ खुवाएर बलात्कार गरेको भन्दै अघिल्लो महिना इलाका प्रहरी कार्यालय गैंडाकोटमा किटानी जाहेरी भएको थियो । किशोरीको जाहेरीका आधारमा प्रहरीले शाहलाई चैत ५ गते जिल्ला अदालतमा मुद्दा दर्ता गराएर अनुसन्धान थालेको हो ।

शाहलाई तनहुँमा पनि तिनै किशोरीले एक वर्ष अघि बलात्कार गरेको भन्दै त्यहाँको प्रहरीमा उजुरी गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । तनहुँ र पूर्वी नवलपरासीमा एक वर्षअघि बलात्कार गरेका अभियोग लगाउँदै मुद्दा दर्ता गराउने किशोरी एउटै हुन् ।

पक्राउ परेका नायक शाहलाई चैत्र १० गते बिहिबार जिल्ला अदालत, तनहुँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि चैत्र १० गते शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

गत फागुन ११ गते गायिका समेत रहेकी नाबालिग एक बालिकाले शाहविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता गरेपछि शाहले फागुन १५ गते प्रहरीमा आत्मसमर्पण गरेका थिए । प्रहरीले शाहलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । उनीविरुद्ध तनहुँपछि चैत ३ गते नवपुरमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !