२२ बैशाख २०८१, शनिबार

पल शाहले दिएको निवेदनको आज उच्च अदालतमा प्रारम्भिक सुनुवाई हुँदै


पल शाह

काठमाडौँ । अभिनेता पल शाहले जिल्ला अदालत, तनहुँको आदेशविरुद्ध उच्च अदालत, पोखरामा दिएको निवेदनउपर आज प्रारम्भिक सुनुवाई हुँदै छ । उच्च अदालत, पोखराका उप-रजिष्ट्रार एवं सूचना अधिकारीले नेपालपत्रलाई दिएको जानकारी अनुसार न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासमा सुनुवाई हुने छ ।

यसअघि गत चैत्र १५ गते मंगलबार अभिनेता शाहले जिल्ला अदालत तनहुँले आफूलाई थुनामा पठाउने आदेशविरुद्ध उच्च अदालत, पोखरामा निवेदन दिएका थिए । शाहका कानुनी सहयोगीले मंगलवार दिउँसो जिल्ला अदालतको फैसलाविरुद्ध तारेखमा थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पोखरामा पुनरावेदन निवेदन दर्ता गराएका थिए ।

शाहका कानुन व्यवसायीका अनुसार तनहुँ जिल्ला अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन गरेको आदेशविरुद्ध तारिखमा रिहाइ गरेर मुद्दा लड्न माग गर्दै उच्च अदालत पोखरामा पुनरावेदन गरिएको हो । जबर्जस्ती करणीको मुद्धामा थुनामा राखेर, साधारण तारिखमा रिहा गरेर वा धरौटीमा छाडेर अनुसन्धान गर्न अदालतले आदेश दिन सक्ने व्यवस्था छ ।

पललाई तारेख वा धरौटीमा छाडेर मुद्दा पुर्पक्ष गरियोस् भनेर माग राखेपनि अदालतले थुनामा पठाएकाले पुनरावेदन दिएको पल पक्षका कानुन व्यवसायीले बताएका छन् । पलले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् । उनले अदालतमा समेत आफूले जबरजस्ती नगरेको बयान दिएका थिए । अहिले पल दमौली कारागारमा छन् ।

गत फागुन ११ गते गायिका समेत रहेकी नाबालिग एक बालिकाले शाहविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता गरेपछि शाहले फागुन १५ गते प्रहरीमा आत्मसमर्पण गरेका थिए । प्रहरीले शाहलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

१७ वर्षिय नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ परेका नायक शाहलाई चैत्र १० गते बिहिबार जिल्ला अदालत, तनहुँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि चैत्र १० गते शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !