२२ बैशाख २०८१, शनिबार

जिल्ला अदालतको आदेशविरुद्ध पलले दिए उच्च अदालतमा निवेदन


पल शाह

काठमाडौँ । जिल्ला अदालत तनहुँले आफूलाई थुनामा पठाउने आदेशविरुद्ध अभिनेता पल शाहले उच्च अदालतमा निवेदन दिएका छन् । अभिनेता शाहले जिल्ला अदालत, तनहुँको आदेशविरुद्ध उच्च अदालत, पोखरामा पुनरावेदन निवेदन दिएका हुन् ।

१७ वर्षिय नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ परेका नायक शाहलाई चैत्र १० गते बिहिबार जिल्ला अदालत, तनहुँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

शाहका कानुनी सहयोगीले आज मंगलवार दिउँसो जिल्ला अदालतको फैसलाविरुद्ध तारेखमा थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पोखरामा पुनरावेदन निवेदन दर्ता गराएका हुन् ।

तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि चैत्र १० गते शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

गत फागुन ११ गते गायिका समेत रहेकी नाबालिग एक बालिकाले शाहविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता गरेपछि शाहले फागुन १५ गते प्रहरीमा आत्मसमर्पण गरेका थिए । प्रहरीले शाहलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

शाहका कानुन व्यवसायीका अनुसार तनहुँ जिल्ला अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन गरेको आदेशविरुद्ध तारिखमा रिहाइ गरेर मुद्दा लड्न माग गर्दै उच्च अदालत पोखरामा पुनरावेदन गरिएको हो । जबर्जस्ती करणीको मुद्धामा थुनामा राखेर, साधारण तारिखमा रिहा गरेर वा धरौटीमा छाडेर अनुसन्धान गर्न अदालतले आदेश दिन सक्ने व्यवस्था छ ।

पलले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् । उनले अदालतमा समेत आफूले जबरजस्ती नगरेको बयान दिएका थिए । अहिले पल दमौली कारागारमा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !