काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश सपुतले भर्खरै सार्वजनिक गरेको ‘पिर’ गीतबाट आफ्नो धारणा व्यक्त गरेका छन् । प्रचण्डले प्रकाश सपुतले सिर्जनात्मक ढंगले गीत बनाउने गरेको भन्दै प्रशंसा समेत गरेका छन् ।
आज सोमबार उनले सुदूरपश्चिमको कैलालीको धनगढी विमानस्थलमामा आज बिहान संचारकर्मीहरुसँग कुरा गर्दै प्रकाश सपुतको गीत ‘पीर’को विषयलाई लिएर धेरै आवेगमा आउनु नपर्ने बताउदै कोही पनि उत्तेजित हुनु नपर्ने स्पष्ट पारेका छन् ।
उनले आफूले सबै गीत हेर्न नपाएको उल्लेख गर्दै जनयुद्धबारे सयौं वर्षसम्म बहस भइरहने हुँदा अहिले नै उत्तेजित हुन नपर्ने बताए । उनले तर्क वितर्क हुने भएकोले यस विषयलाई स्वाभाविक रुपले लिनुपर्ने बताएका छन् ।
उनले जनयुद्धसँगै शान्ति प्रक्रिया आएको हुँदा गर्व गर्ने पक्ष पनि धेरै रहेकाले अहिले विचलित हुनु नपर्ने बताए । कार्यक्रमको व्यस्तताले आफूले सो गीतलाई पूरै हेर्न नपाएको र मिडियामा चर्चा सुनेको बताउँदै धेरै विरोध गर्नुपर्ने जस्तो आफूलाई नलागेको बताए ।