काठमाडौँ । ‘नेपालकी शकिरा’ नामले चिनिने गायिका इन्दिरा जोशीले हेलिकप्टरमा खुम्बु पुगेर ‘फिल्मी शैली’मा इन्गेजमेन्ट गरेकी छन् । नेपाल आइडलकी निर्णायकसमेत बनिसकेकी गायिका जोशी र फेसन डिजाइनर शरद केडियाबीच ‘इन्गेजमेन्ट’ भएको हो ।
क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा शरदले इन्दिराको हातमा औठी लगाउँदै गरेको भिडिओ सार्वजनिक भएको हो । सार्वजनिक भएको उक्त भिडिओमा कुनै फिल्मको दृश्यजस्तै लाग्ने गरी शरदले इन्दिरालाई औठी लगाउँदै गरेको प्रष्ट रुपमा देख्न सकिन्छ । क्याप्टेन थापाले टिकटकमा भिडिओ राख्दै इन्दिरा र शरदलाई नयाँ उज्वल भविष्यको कामना समेत दिएका छन् ।
केही समयअघि उनले फेसबुकमा लेखेकी छन्, उसले सोध्यो, ‘के तिमी मसंग बिहे गर्छौ ? र मैले हुन्छ भने ! म तिमीलाई माया गर्छु शरद केडिया ! मलाई तिम्रो मायासंग हरेक दिन नुहाउनको लागि अवसर दिएकोमा धन्यवाद ! शरद केडिया ! मेरो स्टार ।’
गत वर्षको फागुन महिनाको पहिलो हप्ता जोशीले आफ्नो सामाजिक सञ्जालको पृष्ठमा एउटा पुरुष र महिलाले हात समातेको फोटो पोष्ट गरेकी थिइन् ।उक्त फोटोमा अनुहार देखाईएको थिएन तर महिलाको औंलामा औंठी लगाएको प्रष्ट देखिएको थियो । उनले फोटोमुनि लेखेकी थिइन्, ‘उसले भन्यो म तिम्रो तारा हुँ तथा तिमी मेरी चन्द्रमा हौ ।’
उनले त्यो औंठी प्रतिबद्धताको भएको उल्लेख गरेकी थिइन् । उनले २ वर्षदेखिको साथ आगामी कयौं वर्ष अन्तिम सास रहेसम्म रहिरहने कुरा उल्लेख गरेकी थिइन् । जोशीले थप लेखेकी थिइन्, ‘२ वर्षको साथ र आउँदो जीवनका समयको निरन्तरता… अन्तिम श्वाससम्म हामी सँगै हुनेछौं।’
त्यतिबेला गायिका जोशीले फेसबुकमा आफू दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलाए पनि प्रेमीको अनुहार सार्वजनिक नगरेपछि उनका फ्यान र शुभचिन्तकहरुको खुल्दुली बढाएको थियो । अहिले भने उनको इन्गेजमेन्टको भिडियो सार्वजनिक भएसंगै सो खुल्दुलीको सकिएको छ ।
नेपालमा अत्यधिक रुपमा चलेको अलग धारको चलचित्र लुटमा ‘उत्रेको चोली’ बोलको आईटम गीत गाउने अवसर पाएकी इन्दिराले कयौं लोकप्रिय गीत गाएकी छिन । ‘चौबन्दी चोली अनि रातो घांगर’, चिया कफी, मोटरसाइकलमा, बेहुली लगायत अनगिन्ती चर्चित गीतहरु उनले गएकी छन् ।