८ बैशाख २०८१, शनिबार

प्राधिकरणवाट ओलीले नियुक्त गरेका शाक्यलाई हटाइदै, देउवाले गरे कुलमानलाई ल्याउने तयारी


कुलमान घिसिङ र हितेन्द्रदेव शाक्य

काठमाडौँ । देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।

पछिल्लो समयमा बिजुलीको चुहावटमा वृद्धि भएको र त्यसलाई न्यून गर्नेतर्फ जुनस्तरमा पहल हुनुपर्ने थियो, त्यसोसमेत हुन नसकेको तथा व्यवस्थापकीय क्षमतासमेत प्रदर्शन गर्न प्राधिकरणको नेतृत्व चुकेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको बुझाइ छ ।

प्राधिकरणका कार्यकारी निर्देशक र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयबीच हुने कार्यसम्पादन करार सम्झौतामा उल्लेख भएअनुसारको जिम्मेवारी पूरा नभएको भन्दै मन्त्रालयले चासो व्यक्त गरेको हो । झण्डै १५ प्रतिशतमा सीमित गर्ने भनिएको विद्युत् चुहावट बढेर १७ प्रतिशतको हाराहारीमा पुगेको छ । अधिकांश निर्माणाधीन प्रसारण लाइनको काम उस्तै हालतमा रहेको छ ।

देशभित्र उत्पादित बिजुली खपत गर्नेतर्फ ध्यान नदिई आयातमा मात्रै ध्यान दिइएको भन्दै मन्त्रालयले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग किन त्यस्तो भएको हो भन्नेबारेमा जानकारी लिएको थियो ।

शाक्यको कार्यमा सुधार नदेखिएपछि सोबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जानकारी गराएकी थिइन् । सोही अनुसार मन्त्री भुसालले शाक्यलाई प्रधानमन्त्री देउवा समक्ष राखेर राजीनाम दिन भनेकी थिइन् ।

प्रधानमन्त्री देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिएका छन् । सवै आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको बालुवाटार स्रोतको बताएको छ ।

स्रोतका अनुसार मंगलबार प्रधानमन्त्री देउवाको उपस्थितिमा जलस्रोत, ऊर्जा तथा सिँचाइमन्त्री पम्फा भुसालले अहिलेसम्मको कार्यसम्पादन पनि सन्तोषजनक नभएकाले पदबाट हटेर सहयोग गर्न शाक्यसँग आग्रह गरेको हो ।

ऊर्जामन्त्री भुसालले प्राधिकरणको वर्तमान व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गर्दा राजीनामा मागेको स्रोतले बतायो । शाक्य २०७७ माघ २७ गते नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।

दैनिक १४ घण्टे लोडसेडिङ अन्त्य गरेर जनतामाझ लोकप्रिय बनेका कुलमानले चार वर्षे अवधिमा लोडसेडिङ अन्त्य गर्नुका साथै प्राधिकरणको साख उचो बनाएका थिए । उनलाई सामाजिक संजाल र सडकमा समेत पुनर्नियुक्ति हुनुपर्ने आवाज उठेपनि ओली सरकारले नियुक्ति गरेको थिएन ।

यो पनि पढ्नुहोस्

विद्युत प्राधिकरणमा फेरि कुलमान नियुक्त गर्न प्रधानमन्त्रीको ठाडो निर्देशन

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यलाई राजीनामा दिन सरकारको आग्रह


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !