१३ बैशाख २०८१, बिहिबार

प्रचण्डको गोरखा क्षेत्र नं २ को मतगणना सुरु


प्रचण्ड लोकतान्त्रिक वाम गठवन्धन काठमाडौँ क्षेत्र नं २ द्वारा बिहीबार कोटेश्वर जडिबुटीमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर ः रत्न श्रेष्ठ, रासस

गोरखा । मतदान सम्पन्न भएको झन्डै २७ घण्टापछि प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ को मतगणना आज साँझ अबेर पछि सुरु भएको छ । गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित भू तथा जलाधार व्यवस्थापन कार्यालय, कार्यान्वयन एकाइको भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मतगणनाको सुरु भएको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिए ।

बिहान ११ बजेदेखि सुरु गरिने भनिएको मतगणना ढिलो गरी सुरु भएको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केही मतदान केन्द्रमा मतदानका क्रममा धाँधली भएको भन्दै विरोध जनाएका कारण सर्वदलीय सहमति कायम ढिलाइ हुँदा मतगणना सुरु गर्न ढिलाइ भएको थियो । अहिले तीनवटा गाउँँपालिकाका मतपत्र मिसाएर गणना सुरु गरिएको उनले बताए ।

गोरखा क्षेत्र नं २ मा कूल मतदाता सङ्ख्या एक लाख पाँच हजार दुई सय ४० जना रहेकामा ५३ हजार नौ सय ७८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । उक्त क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) गठबन्धनबाट प्रतिनिधिसभाको उम्मेदवार रहेका छन् ।

त्यस्तै गरी गठबन्धनकै तर्फबाट प्रदेशसभातर्फ २ (१) मा नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र २ (२) मा कांग्रेसका तर्फबाट सुरेन्द्रराज पाण्डे उम्मेदवार रहेका छन् । अध्यक्ष प्रचण्डका प्रत्याशीका रुपमा एमालेका अब्दुस मियाँ र नेपाल स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटी यस क्षेत्रमा चुनावी मैदानमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !