६ बैशाख २०८१, बिहिबार

कैलाली क्षेत्र नं १ र ३ : नागरिक उन्मुक्ति पार्टीलाई अग्रता


रञ्जिता श्रेष्ठ

टीकापुर । प्रतिनिधिसभा निर्वाचनको कैलालीमा मतगणना सुरु भएको छ । मतगणना सुरु भएसँगै मतपरिणाम आउने क्रम जारी छ । कैलालीमा नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुईवटा निर्वाचन क्षेत्रमा अग्रता लिएको छ ।

कैलाली क्षेत्र नं १ मा पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र कैलाली–३ मा गङ्गाराम चौधरी अगाडि रहेका छन् । अध्यक्ष श्रेष्ठले ६ सय ९१ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी कांग्रेसका रामजनम चौधरीले चार सय ११ मत ल्याएका छन् ।

त्यस्तै तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का तपेन्द्रबहादुर रावलले एक सय ८३ मत प्राप्त गरेका छन् । त्यसैगरी निर्वाचन क्षेत्र नं ३ मा हालसम्म पाँच हजार एक सय पाँच मतको परिणाम सार्वजिनक भएको छ ।

मतपरिणामअनुसार नागरिक उन्मुक्तिका गङ्गाराम चौधरीले एक हजार ६ सय एक मत पाउँदा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का कृष्णकुमार चौधरीले एक हजार तीन सय मत प्राप्त गरेका छन् । कैलाली–३ मा राप्रपाका वीरेन्द्रबहादुर बम एक हजार ५० मतसहित तेस्रो स्थानमा रहनुभएको छ भने एमालेका गौरीशङ्कर चौधरीले आठ सय मत प्राप्त गरेका छन् ।

कैलाली क्षेत्र नं २ मा ५ बजेदेखि मतगणना केहीबेरमा सुरु भएको थियो । क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ गठबन्धनबाट भगत बडुवाल, एमोलबाट झपट रावल र नागरिक उन्मुक्तिबाट अरुण चौधरी प्रतिस्पर्धामा छन् ।

कैलाली क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा दुवैको मतगणना सुरु भएको छ । कैलाली क्षेत्र नं ४ मा प्रतिनिधिसभातर्र्फ सात सय २६ मतगणना सकिएको छ । यस क्षेत्रमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका वीरबहादुर बलायर (रूख) ले तीन सय ९४, लेखराज भट्ट (सूर्य) ले दुई सय ६८ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रको प्रदेशसभा (१) तर्फ नेकपा (एकीकृत समाजवादी)का दीर्घबहादुर सोडारीले चार सय ६५, एमालेका भीमबहादुर देउवाले एक सय ८१ मत प्राप्त गरेका छन् । त्यसैगरी प्रदेशसभा (२) तर्फ पनि मतगणना सुरु भएको स्थानीय पत्रकार लक्ष्मी जैसीले जानकारी दिए । कैलाली क्षेत्र नं ५ मा निर्वाचन अधिकृत बिरामी भएकाले अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !