२१ बैशाख २०८१, शुक्रबार

मध्यपश्चिम विश्वविद्यालयको बेरुजु एक अर्ब


दीक्षान्त समारोह स्थगित

कर्णाली । एक दशकको अवधिमा मध्यपश्चिम विश्वविद्यालयको बेरुजु एक अर्ब १२ करोड ५८ लाख ७७ हजार पुगेको छ । विश्वविद्यालय प्रशासनले सुर्खेतको वीरेन्द्रनगरस्थित शुक्रबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन कार्यक्रममार्फत बेरुजु अवस्था सार्वजनिक गरेको हो ।

विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. नारायणप्रसाद पौडेलले स्थापना कालमा उपकुलपति प्रा. डा. पदमलाल देवकोटा र रजिष्ट्रार सह–प्रा. डा. ठगेन्द्रप्रसाद गिरी हुँदाका बखत आव २०६८/६९ मा रु ८३ लाख ९८ हजार तथा आव २०७८/७९ सम्ममा रु एक अर्ब १२ करोड ५७ लाख पुगेको बताए ।

“यसमा असुलउपर र सैद्धान्तिक एवं प्रक्रियागत बेरुजु परेको छ”, रजिष्ट्रार पौडेलले भने । वीरबहादुर पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । उनले असुलउपर गर्ने बेरुजुमा रु ६३ लाख ६६ हजार ९६४ मा केही प्रतिशत मात्र असुल भएको बताए । रजिष्ट्रार पौडेलका अनुसार रु १२ करोड ४० लाख ५१ हजार बेरुजु सम्परीक्षण गरिएको छ । अझै करिब रु एक अर्ब बेरुजु विश्वविद्यालयले फछ्र्योट गर्न बाँकी छ ।

आर्थिक वर्ष २०७५/७६ मा उपकुलपति प्रा. डा. उपेन्द्रकुमार कोइराला र रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लको पदावधिमा सबैभन्दा बढी रु ४० करोड ५९ लाख ६० हजार (३६.०४) प्रतिशत बेरुजु आएको उनले बताए । यहाँ असुलउपर गर्नुपर्ने बेरुजु पनि रहेको उनको भनाइ थियो ।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले करिब १३ वर्षको बेरुजुलाई सबै आफ्नो पालामा गरेकोजस्तो गरेर सामाजिक सञ्जाल तथा समाचार माध्यमबाट आएपछि त्यसको भ्रम हटाउन पत्रकार सम्मेलन कार्यक्रम गरिएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !