७ बैशाख २०८१, शुक्रबार

विपद् व्यवस्थापन चुनौतिपूर्ण


Editorial

नेपालपत्र, १९ असार २०७५ । वर्षायामको सुरुआतसँगै बाढी र पहिरोले सर्वसाधारणको दैनिकी प्रभावित हुन थालिसकेको छ । नेपाल यस्तो देश हो जहाँ पहाडमा पहिरो र तराईमा बाढीले प्रत्येक वर्ष सताउने गर्दछ । वर्षा मौसमको आगमनसँगै बाढी, पहिरो र डुबानबाट कैयौंको ज्यान जाने गर्छ । यस्ता प्रकोपबाट सास्ती बेहोर्नेको संख्या अत्यधिक छ । प्राकृतिक प्रकोप रोक्न त सकिन्न तर त्यसबाट हुने क्षति न्यूनीकरणका लागि तयारी गर्न सकिन्छ । तर हामीकहाँ प्रभावकारी रूपले विपद् व्यवस्थापन हुन सकेको छैन, जसका कारण जनधनको अत्यधिक क्षति भइरहेको छ ।

प्राकृतिक विपद्लाई पूर्ण निषेध वा नियन्त्रण गर्न सकिदैन । प्राकृतिक प्रकोपहरू कसैले रोकेर रोक्न सक्दैन तर विपद्हरूको जोखिम न्यून गर्नचाहिँ सकिन्छ । मानवीय, भौतिक क्षति कम गर्न प्रारम्भमै तयारी गर्न सक्ने हो भने प्राकृतिक विपद्ले निम्त्याउने असर कम गर्न सकिन्छ । विपद्लाई व्यहोर्नैपर्छ, तर यसलाई व्यवस्थापन गर्ने उचित उपाय अवलम्बन समयमै गर्न सकिए, यसवाट हुने हानि न्यूनीकरण गर्न भने सकिन्छ । तर हाम्रो देशमा विपद् व्यवस्थापनसम्बन्धी जानकारी जनमानसमा एकदम कम छ । विपद् व्यवस्थापनका लागि सरकारी संयन्त्र पनि चुस्त छैन । प्रत्येक वर्ष क्षतिबाट बच्न ढिलो हुने र जनधनको समेत क्षति भएको देखिन्छ । पछिल्लो समय बाढीको पूर्वसूचना दिने गरिएको छ । तर यस्ता पहल मात्र पर्याप्त भने छैनन् । विपद् न्यूनीकरणका लागि बृहत् र स्थानीय तहमा आधारित योजना हुन जरुरी छ ।

विपद्मा परेका मानिसको सुरक्षा सबैभन्दा पहिले पुगेका उद्धारकर्मीमा बढी निर्भर हुन्छ । त्यसैले बाढी, पहिरो, डुबानजस्ता समस्या आइपरे विपत्तिमा रहेका मानिसको ज्यान जोगाउने आधारभूत तयारी गर्न जरुरी छ । यसका लागि स्थानीय रूपमा उपलब्ध स्रोतसाधनको प्रयोग, प्रविधिको अधिकतम उपयोग, सूचना व्यवस्थापन, विपद्बाट बाँचेकाहरूलाई पर्याप्त सहयोग, क्षतिको मूल्यांकन र पुनर्निर्माणका सबै पक्षबारे पूर्वतयारी गर्न आवश्यक छ ।

पछिल्लो केहि दिनदेखि देशभरि नै बाढी, पहिरो, डुबानजस्ता प्रकोपले सर्वसाधारणलाई प्रभावित बनाईरहेको देख्न सकिन्छ ।  क्षति कम गर्न बाढी, पहिरो, डुबानजस्ता प्रकोपको मारमा पर्न सक्ने बस्ती तथा क्षेत्रको पहिचान गरी आवश्यक तयारी गर्नुपर्छ । नदी, खोलानजिकका बस्तीमा पनि सोहीअनुसारको तयारी आवश्यक छ । विपद् हरेक वर्ष आइपर्छ। विपद् न्यूनीकरणका लागि भौतिक संरचना निर्माणका मापदण्डलाई पनि पूर्णरूपमा कार्यान्वयन गराउनुपर्छ । विपद्पछि सर्वसाधारणलाई छिट्टो र छरितो तरिकाले राहत वितरण गर्न सरकारले व्यवस्थापन पक्षलाई चुस्त राख्नु पर्दछ । अहिलेपनि वर्षाको सुरुवातसंगै धेरै बिस्थापित भइसकेकाले बर्खा अन्त्य हुने सम्ममा प्रभावितको संख्या धेरै नै पुग्ने निश्चित छ । त्यसैले विपद् व्यवस्थापनलाई राहतसँग मात्र नजोडेर दीर्घकालीन समस्या समाधानका उपाय पनि खोज्नु आवश्यक छ । सरकारले तुरुन्तै यस बिषयमा निर्णय गरेर सर्वसाधारणलाई विपद्वाट जोगाउन अग्रसर हुनु पर्दछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !