१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्रीको चीन भ्रमण सफल   


Editorial

नेपालपत्र, १० असार २०७५ । आज प्रधानमन्त्री केपी शर्मा ओलीको टोली चीनको ६ दिने औपचारिक भ्रमण सकेर स्वदेश फर्केको छ । चीन भ्रमणका क्रममा प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी जिनपिङलगायत उच्च अधिकारीहरूसँग भेट गरेका छन् र केही सम्झौता र केही समझदारीमा हस्ताक्षर पनि भएको छ । चिनियाँ सहयोग र लगानीका सम्झौतासमेत भएकाले प्रधानमन्त्री ओलीको भ्रमणलाई सफल र उपलब्धिमूलक भएको दाबी गरिएको छ । यस्ता सहमतिमा काठमाडौंसम्म केरुङ हुँदै चिनियाँ कार्गो रेल ल्याउने, नेपाल–चीन विद्युत् प्रसारण लाइन निर्माण गर्ने, तिब्बतको सडक प्रयोग गरेर नेपालबाट नेपालकै अर्को नाकासम्म जानेआउने सुविधाजस्ता विषयलाई विशेष महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।साथै पुनःनिर्माणसम्बन्धी दुई छुट्टाछुट्टै सम्झौता भएको, मालसामान ढुवानीका लागि नेपालले चीनको तिब्बती राजमार्ग उपयोग गर्नेसम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको छ । यस्तै दुई देशका परराष्ट्र मन्त्रालय सहयोग सुदृढीकरण, मानव संशाधनमा सहयोग र आर्थिक तथा प्राविधिक सहयोग सम्झौता भएका छन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि गठन भएको वर्तमान सरकारका आगामी प्राथमिकताका बारेमा चिनियाँ नेतृत्वलाई अवगत गराउनु  र चिनियाँ नेतृत्वबाट नेपालमा भएको ऐतिहासिक राजनीतिक परिवर्तनका लागि नेपाललाई बधाई दिँदै नेपाल सरकारले देशलाई विकासको नयाँ चरणमा पु¥याउने आशा व्यक्त हुनु  नै भ्रमण सफल भएको संकेत हो । साथै आर्थिक समृद्धि हासिल गर्नका लागि चीन सरकारसँग सहयोगका विभिन्न क्षेत्रमा सहकार्य गर्न प्रयास गर्नु र चीन सरकारको पनि सकारात्मक प्रतिक्रियाले यो भ्रमण निक्कै सफल भएको मान्न सकिन्छ ।

चीन भ्रमणका समयमा प्रधानमन्त्री ओलीको कम्युनिस्ट पार्टीका नेतासँग पनि भेटघाट हुनु र निर्वाचित कम्युनिस्ट प्रधानमन्त्रीका रूपमा चिनियाँ कम्युनिस्ट पार्टीले अध्यक्ष ओलीलाई महत्त्व दिनुले पनि नेपाल चीन सम्बन्धले नयाँ मोड लिने संकेत गरेको छ । सहमति र सम्झौता भए पनि समयमा उक्त सहमति कार्यन्वयन नहुने विगतको इतिहास हामीसँग रहेको छ । बिशेषगरी भारतसँग भएका धेरै सम्झौता कागजमै सीमित भएको पाइन्छ । चीनसंगको  सहमति र सम्झौता त्यस्तो नहुनेमा अहिलेको सरकार स्थिर हुनु पनि मुख्य कारण बन्न सक्नेछ । यी  सबै पक्षलाई विश्लेषण गर्दा यो भ्रमण र भ्रमणमा भएका हस्ताक्षरका बुँदा कार्यन्वयन हुने र भ्रमण सफल मान्न सकिन्छ । यसरी हेर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई सफल र उपलब्धिमुलक मान्न सकिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !