६ बैशाख २०८१, बिहिबार

ओली र नेपालवीचको ४९ वर्षको यो कस्तो माया-पिरती ?

नेपाल भन्छन्, 'केपी ओलीसँग ४९ वर्षको माया-पिरती छ'


केपी ओली र माधव नेपाल फाइल फोटो

काठमाडौं । माया-पिरती शब्द आफैमा अझसम्म कुनै पनि दार्शनिकले सहि रुपमा परिभाषा गर्न नसकेको अपरिभाषित शव्द हो । तर प्रेमी र प्रेमिकाले गर्न महसूस सक्ने भावनात्मक अनुभूति हो । माया-पिरतीलाई अर्को शव्दमा प्रेम पनि भनिन्छ । प्रेम भनेको दुई आत्माको पवित्र मिलन पनि हो ।

माया-पिरतीको बारेमा चर्चा गर्दा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता माधव नेपालले हिजो ओकलेको भनाईको प्रसंग जोडौ । हिजो नेपालले आफू पार्टीका अध्यक्ष केपी ओलीसँग आफ्नो ‘मायापिरती’ ४८-४९ वर्ष पुरानो भएको भन्दै सजिलै नछुट्टिने वा नतोडिने बताएका थिए ।

काठमाडौंमा हिजो शनिवार आफू निकट युवा संघ नेपालको राष्ट्रिय भेलालाई सम्वोधन गर्दै नेपालले आफूहरूको ४८-४९ वर्षको माया पिरती एक रातमै नसकिने उनले बताएका थिए । लामो समय ओलीको आलोचनामा खर्चिएतापनि ओलीसँग छुट्टिएर जाने पक्षमा नरहेको बताएका थिए ।

‘हामी सँगै जाने पक्षमा छौं । केपी ओलीसँग छुट्टिने पक्षमा छैनौं । त्यत्रो लामो समयको माया पिरती कहाँ एक रातमा सकिन्छ । केपी ओलीसँगको मेरो माया पिरती ४८-४९ वर्षको भइसक्यो थाहा छ ? तपाईंहरू ४८ वर्ष पुग्नु भएकै छैन होला ४० भन्दा कमै होला,’ उनले भने ।

गीतकार, संगीतकार तथा गायक काली प्रसाद बास्कोटाको एउटा चर्चित गीत छ – ‘निरा जहिले रिसाउने । निरा जहिले रिसाउने कहिले होला मायासंग माया मिसाउने ? मै हु फकाउने सधै मै हु फकाउने, मै रिसाए माया प्रेम कल्ले बजाउने ?’

नेपाल ओलीसँग जहिले रिसाएर बाहिर हल्ला गर्दै हिड्नु ठिक हुदैन । ओलीले पनि पार्टी अध्यक्ष भएको नाताले गीतले भनेझैँ मै हु फकाउने भनेर नेपाललाई फकाउनु पर्ने देखिन्छ । कहिले होला ओली र नेपालको मायासँग माया मिसाउने भनेर नेपाली जनता प्रतिक्षा गरेर बसिरहेका छन् ।

सानो-तिनो कुरामा कहिले रिसाउनु हुँदैन । लाएको मायालाई कहिले चिस्याउनु हुँदैन । पछि जे जस्तै समस्या आए पनि जीवनमा रिसाएर अन्तै माया कहिले मिसाउनु हुँदैन । कहिले नरिसाउने मान्छेको रिस कडा हुन्छ, जहिले रिसाउने मान्छेको माया गाढा हुन्छ । व्यक्तिगत स्वार्थ र सत्ताको लागि सानो-तिनो कुरामा दुवै जना कहिले रिसाउनु हुँदैन । जहिले रिसाउने मान्छेको माया गाढा भएजस्तै विगतका सवै कुरा धोएर गाढा माया-पिरतीतिर लाग्ने हो की ?

प्रेम शब्द आफैमा अर्थपूर्ण, अनमोल अनि निकै गहन छ, फेरि पनि कसले कसरी बुझ्ने, कस्तोलाई माया भनेको कस्तो हुन्छ गहनतम अध्ययन जरुरी पक्कै पनि छ । यहाँ विशेष प्रेम शब्द सुन्ने बित्तिकै माया मोह अनि जिन्दगी सम्झनेहरुको जमात मात्रै होइन, प्रेम शब्द सुन्नै नचाहनेहरु पनि कम छैनन् ।

कुनै प्रेमिकाले आफ्नो प्रेमीलाई दंग्याउन अनेक नाटक गरिरहेकी हुन्छिन् । कहिले उनी अकस्मात प्रेमीदेखि रिसाउछिन् । अहिले फोन नउठाएर होस् वा फेसबुक मेसेन्जरमा प्रेमीको कुरालाई बेवास्ता गरेर बढी भाऊ खोजिरहेकी हुन्छिन् । यो कुरा कुरा प्रेमी-प्रेमिकाको माया-पिरतीको उतारचढावको कहानी । यस्तै प्रेम कहानी देखिन्छ एमालेका यी दुवै शीर्ष नेताहरुको माया-पिरतीको खेल पनि । नेपालले ओलीलाई प्रेमिका झैँ दंग्याउदैछन् तर ओलीले प्रेमको भाषा नबुझी नेपाललाई भाऊ नदिएर बेवास्ता गरेर अघि बढिरहेको जस्तो देखिन्छ । पार्टीलाई एउटा गतिशील बनाउन प्रधानमन्त्रीज्यू नेपाललाई नजरअन्दाज नगर्नुहोस् ।

अधिकांश प्रेमी-प्रेमिकाको माया-पिरती विवाहमा परिणत हुन प्रेमिकाले प्रेमीसँग शारारिक र आर्थिक सेक्युरिटीको महसुस खोजेकी हुन्छिन् । जसरी प्रेममा प्रेमिकाले प्रेमीसँग शारारिक र आर्थिक सेक्युरिटीको खोजेजस्तै राजनीतिमा पनि सत्ता र पद जोडिनु स्वाभाविक हो । माधव नेपालले आफ्नो राजनीतिक भविष्यको सुनिश्चतता खोजेको जस्तो देखिन्छ । त्यसो हो भने अर्को महाधिवेशनमा नेपाललाई अध्यक्षको आश्वाशनको जेन्टलमेन एग्रीमेन्ट गरिदिए भयो नी पार्टी एक भएर अघि बढ्छ भने ।

तर नेकपाका महासचीव भई सकेका पूर्वप्रधानमन्त्री माधव नेपाल र अहिलेका नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीवीचको यो कस्तो हो माया-पिरती ? बुझ्न नै कठिन । डिभोर्स पनि नहुने तर अनिर्णयको बन्दी बनाएर देशमा राजनीतिक अस्थिरता निम्त्याउने ताण्डप नृत्य जस्तो । नेकपाका नेता-कार्यकर्तादेखि आम सवै नेपाली जनताहरु यी दुवै नेताको माया-पिरतीको हर्कतले वाक्क-दिक्क भई सकेका छन् ।

महाभारतको युद्ध महिलाका कारण भएको थियो भने सिता हरण नगरेको भए रामको हातबाट रावण मर्नुपर्ने थिएन । यहाँ पुरूष मात्र होइन महिला पनि उत्तिकै दोषी छन् । तर स्वार्थबश गरिएको प्रेम भनेको धोका हो । नेपालमा यी दुवै नेताहरुको व्यक्तिगत स्वार्थ, सत्ताको मोहले फेरि नेकपामा सानोतिनो महाभारत युद्ध हुने संकेत देखिदैछ ।

नेकपा एमालेमा सीतालाई रावणले हरण गरेर लागेझैँ आगामी निर्वाचनमा आम जनमत अर्को पार्टीमा गएमा बिलौना गरेर बस्नु बाहेक अन्य केहि बाँकी रहदैन । यो देश र आम जनताको लागि बिडम्वनाको कुरा हो । प्रेमी र प्रेमिकाको स्वार्थवश गरिएको मायाको नाटक धोका भएजस्तै राजनीतिक स्वार्थले प्रेरित भएको पुरानो ४९ वर्षदेखिको माया-पिरती पनि देशको लागि धोका हो ।

प्रेमीर प्रेमिकावीच हुने माया-पिरती दोहोरो हुनुपर्छ तब मात्रै सार्थक हुनसक्छ । नेकपा एमालेका यी दुवै शीर्ष नेताहरुवीच पनि देश र जनताको लागि कसम खाएर दोहोरो माया-पिरतीको अंकुरण हुन जरुरी छ । अनि मात्र दुवैको माया-पिरती साथक भएर देशले निकास पाउछ ।

यहाँ जो समय समयमा प्रेमको परिभाषा नै बदलिदिएका हुन्छन्, समाजले, संसारले मानोस् नमानोस् उनीहरुले भनेपछि पुग्यो त्यहाँ । यहाँ हामीले के बुझ्न जरूरी छ भने महिला युज गर्ने मात्र होइन एउटा बिग्रिएको घरलाई बरबाद हुनबाट बचाउने भुमिका देखि घरलाई स्वर्ग र बनी सकेको घरलाई नर्क बनाउने काम महिलाबाट हुन्छ । यस्तै एमालेका यी दुवै नेताहरुले व्यक्तिगत स्वार्थमा मात्र सीमित भएर एकले अर्कोलाई ‘युज एण्ड थ्रो’ गर्ने रणनीति पार्टीको लागि दुर्भाग्यको कुरा हो । असल बुहारीले बिग्रिसकेको घरलाई स्वर्ग बनाउन सक्ने क्षमता भएजस्तै विभाजनको संघारमा पुगेको एमालेलाई जोगाउनु यी दुवै एमालेका नेताहरुको कर्तव्य हो ।

‘हामी सँगै जाने पक्षमा छौं । केपी ओलीसँग छुट्टिने पक्षमा छैनौं । त्यत्रो लामो समयको माया पिरती कहाँ एक रातमा सकिन्छ । केपी ओलीसँगको मेरो माया पिरती ४८-४९ वर्षको भइसक्यो थाहा छ ? तपाईंहरू ४८ वर्ष पुग्नु भएकै छैन होला ४० भन्दा कमै होला,’ नेपालले हिजो भनेका थिए । नेपालको यो पुनर्मिलनको प्रस्ताव स्वीकार गर्नु नै ओलीको लागि हितको कुरा हो । नेकपा एमाले एक होस् । यो उक्त पार्टीका नेता-कार्यकर्ता र आम नेपाली जनताको चाहना पनि हो ।

नेपालले ओलीले वैठकका लागि फोन गरेको सन्दर्भ पुन: कोट्याउदै आफू भएको भए फोन गर्नेभन्दा निवासमै पुगेर फकाउने उनको भनाइ थियो । ‘म अध्यक्ष भएको भए घरमै पुगेर, ढोका खोलेर, बेड रुममा पसेर किन रिसाउनुभो भनेर गाला मुसार्ने थिएँ । फकाउन म जान्दछु नि । उहाँको काम होइन ? गार्जियनको काम नै हो फकाउने तर उहाँले त्यो गर्नुभएन’ नेपालले भने ।

जसरी प्रचण्डको निवासमा पुगेर आफूमाथि प्रचण्डले लगाएको आरोप फिर्ता लिएर पार्टीलाई विभाजनवाट बचाउन गरेको प्रयास जस्तै तपाईका ४९ वर्षदेखिका परममित्र माधव नेपालको घरमा गएर तपाईले एकपटक प्रयास गर्नुहोस् प्रधानमन्त्रीज्यू ! माधव नेपालको घरमा गएर ढोका खोलेर, बेड रुममा पसेर किन रिसाउनुभो भनेर गाला मुसानु होस् । यसले गर्दा ब्रेक अप हुन लागेको तपाई दुवै जनाको रिलेशन प्याच अपमा ट्रान्सफरमेशन हुन्छ की ट्राई गर्नुहोस् प्रधानमन्त्रीज्यू ! नेपालले भनेझैँ गार्जियनको अहम् भूमिका निभाउनुहोस् प्रधानमन्त्रीज्यू !

आफूहरु अहिले पनि अध्यक्ष ओली सुध्रिउन् भन्ने पक्षमा रहेका नेता नेपालले हिजो बताएका थिए । ‘अहिले पनि केपी कमरेडलाई मेरो प्रस्ताव हो, नयाँ ढंगबाट जाऊँ, एकताको बाटोमा अगाडि बढौं,’ उनले भने, ‘त्यसका निम्ति २०७५ जेठ ३ भन्दा अगाडिको अवस्थामा फर्किनुस् र यसबीचमा भएका बैठक अवैध भएकाले फिर्ता लिनुस् ।’ नेपालले भनेझैँ सवै मानवमा अन्तर्निहित नकारात्मक प्रवृतिलाई हटाउनुहोस् प्रधानमन्त्रीज्यू ! २०७५ जेठ ३ भन्दा अगाडिको अवस्थामा फर्किएर एकताको बाटोमा अगाडि बढ्नुहोस् प्रधानमन्त्रीज्यू ! एउटा नेपाली नागरिकको हैसियतले यो हाम्रो अनुरोधलाई शिरोधार्य गर्नुहोस् भन्ने कामना मात्र हो तर राम-राम मात्र भन्न सकिन्छ काँध थाम्न सकिदैन ।

तर अध्यक्ष ओली २८ फागुनमा गरेको ‘अवैधानिक’ निर्णय सच्याउन तयार नभएको नेपालले हिजो बताएका थिए । शनिबार मात्र अध्यक्ष ओलीले एमाले केन्द्रीय कमिटीको १२ औं बैठक बोलाएको भन्दै वरिष्ठ नेता नेपालले भने, ‘एमालेको अन्तिम बैठक ९ नम्बर हो । दुईवटा बैठक कहाँ गयो अत्तोपत्तो छैन । तेस्रो बैठकमा लुरुलुरु बालुवाटार जान्छौं ? जाँदैनौ । हामी स्वाभिमानी मान्छे हौं ।’ खनाल-नेपाल समूहले केहि अडान राखेकोमा पार्टीको बैठक पार्टी कार्यालयमा बोलाउनु नै उचित देखिन्छ । कहिलेकाहीं झुक्दा पनि मानिस सानो हुदैन । उसको भूमिका झन् उचो हुन्छ ।

‘गोर्खा भर्ती खोल्दाखेरी के हुन्छ ? बाटाबाटामा मान्छे खोज्छन् । त्यस्तै यहाँ टिकट लिइकन केन्द्रीय सदस्य बन्न आओ भनेर डमरू बजाएर खोजिराख्या छन् । त्यो केन्द्रीय कमिटी हो? त्यो पार्टी हो? हाम्रो लडाइँ के हो भन्दा पार्टीलाई पार्टीको रूपमा अघि बढौं । विधानको आधारमा अघि बढौं,’ नेपालले हिजो भनेका थिए,’ विधानले के भन्छ भने प्रत्येक व्यक्ति पार्टीको कमिटीको मातहतमा हुन्छ । अध्यक्ष होस् वा कुनै पनि पदाधिकारी होस् । ऊ कमिटीको मातहतमा हुन्छ संगठनको मातहतमा हुन्छ। पहिलो सिद्धान्त । केपी कमरेडले त्यो सिद्धान्त मान्नुहुन्छ कि मान्नु हुन्न । प्रश्न त्यो हो ।’

यद्यपि (२३ फागुन यता भएका निर्णय) गल्ती सच्याए सँगसँगै जान तयार रहेको उनले बताए । उनले केपी ओलीले गोर्खा भर्तीमा खुल्दा मान्छेहरू बाटोबाट टिपे जसरी केन्द्रीय कमिटीको सदस्यहरू राखेको नेपालले हिजो बताएका थिए । २३ फागुन यता भएका गल्ती निर्णय सच्याएर सँगसँगै जान तयार रहेको नेपालले बताएपछि यसतर्फ प्रधानमन्त्री ओलीको ध्यान जानुपर्ने देखिन्छ । फेरि नेपालले आफ्ना पार्टीका अध्यक्ष ओलीलाई अनेक आरोप-प्रत्यारोप लगाएर पार्टी र नेताहरुको बेइज्वत गर्ने काम बन्द गर्नुपर्ने हुन्छ । खनाल-नेपाल समूहले बाहिर होटेलमा बैठक बोलाएर समानान्तर कमिटी गठन गर्दै हिड्ने काम तुरुन्त बन्द गर्नुपर्ने देखिन्छ ।

अन्तत: विभाजनको संघारमा पुगेका सत्तारुढ दल नेकपाका यी दुवै समूहका शीर्ष नेताहरुवीच धुम्बाराही भेटघाट भएपछि आम नेता र कार्यकर्तामा छाएको खुशियाली त्यसको १ दिनपछि नै चरम निरासा छाएको थियो । उक्त पार्टीका कार्यकताहरु र आम जनताले कुनै पार्टीको विभाजन रुचाउदैनन् ।

विगतमा नेकपा एकीकरण भएपछि एकाएक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तिर लागेका नेकपा एमालेका नेता माधव नेपाल र प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीवीच पानी बाराबारको सम्वन्ध फेरि पुनर्मिलन हुने संकेत चैत्र २ गते सोमबार देखिएपछि पार्टीमा खुसियाली छाएको थियो । यसरी नै एमालेभित्र विवाद बढेपछि दुबै पक्षका केही नेताहरूले प्रधानमन्त्री ओली र नेपालबीच संवाद गराउन गराउन सफल भएको त्यो युवापंक्ति पुन: सक्रिय भएर लाग्नु जरुरी छ ।

ठुलो दुर्घटना हुनवाट अव चाहि एमाले बचेको हो कि भन्ने आम जनता र यस पार्टीका कार्यकर्ताको चाहना विपरित फेरी एमाले विभाजनको संघारमा पुगेको छ । हुनपनि सवै नेपाली जनताले देशमा राजनीतिक स्थायित्व चाहेका छन् । प्रेमी र प्रेमिकावीच माया-पिरती विवाहमा परिणत भए सन्तान जन्मेझैँ ओली र नेपालवीचको माया-पिरतीको सम्वन्ध पार्टी एक भएर सरकारले देखेको समृद्ध नेपाल र सुखी नेपालीको मूलमन्त्र यथार्थमा जनताले अनुभूति गर्न थालेपछि मात्र सार्थक भएको मान्न सकिन्छ ।

हुनपनि एउटै खाटमा सुतेपछि कहिलेकाहीं गोढाले लाग्नु स्वाभाविक हो । आपसी समझदारीवाट पार्टीमा देखिएको विवाद समाधान गर्नु देशकै लागि सुखद कुरा हुनेछ । बिगतमा एकअर्काले गरेका गल्ती महसूस गरेर हातेमालो गरेर अघि बढ्नु नै आजको आवश्यकता हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !