२० कार्तिक २०८१, मंगलबार

सवै सत्ता र शक्तिको पछि दगुर्ने, पञ्चायत कालका शक्तिशाली पूर्व गृहमन्त्री स्वाँरको निधन छायाँमा

स्वाँरको निधनको खवर देशका मूलधारका भनिने राष्ट्रिय मिडियामा पनि कतै देखिएन


नैनबहादुर स्वाँर

काठमाडौँ । पञ्चायत कालका पूर्व गृहमन्त्री नैनबहादुर स्वाँरको ९३ वर्षको उमेरमा आज बिहीबार निधन भएको छ । स्वाँर २०३८ सालमा सूर्यबहादुर थापा नेतृत्वको सरकारमा पहिला कानून मन्त्री र पछि गृहमन्त्री तथा २०४३ सालमा मरिचमान सिंह नेतृत्वको सरकारमा गृहमन्त्री साथै राष्ट्रिय पञ्चायतको अध्यक्ष समेत भएका थिए ।

स्वाँरलाई दसैंको टीकाको पर्सिपल्ट अर्थात् कात्तिक १२ गते शरीरमा अक्सिजनको मात्रा कम भएर परिवारले उनलाई तत्कालै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगेर जाँच गर्दा मुटुमा समस्या देखिएपछि महाराजगञ्जस्थित मनमोहक कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा लगिएको थियो ।

उक्त सेन्टरमा कात्तिक १३ गते पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेको थियो भने कात्तिक १६ गते कोरोना पोजिटिभ रिपोर्ट आएपछि शुरुमा परिवारका सदस्य आत्तिएका थिए । मनमोहनमा १२ दिन राखेर उपचार गरेपछि स्वाँरको स्वास्थ्यमा सुधार आएपछि होम आइसोलेसनमा राख्ने भन्दै अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।

अस्पतालबाट घर ल्याएपछि स्वाँरको अवस्था झन् कमजोर बन्दै गएर खाना समेत खान छाडेपछि लक्ष्मी पूजाको भोलिपल्ट उनको शरीरबाट अक्सिजनको मात्रा घट्नुका साथै रक्तचाप समेत कम हुँदै गएपछि परिवारले नर्भिक अस्पताल लगेका थिए। अस्पतालले तुरुन्त भेन्टिलेटरमा राखेर उपचार गर्ने सुझाव दिएको समयमा पुनः पिसिआर परीक्षण गर्दा पनि स्वाँरको कोरोना पोजेटिभ नै आएको थियो ।

थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका ९५ वर्षीय स्वाँर हिजो बुधबार मात्र उनी कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका थिए । कोरोना संक्रमणका कारण गम्भीर अवस्थामा पुगेका स्वाँरलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

स्वार अछाममा सरकारी कार्यालय राख्ने मागको सुनुवाइ नभएपछि अछामको भ्रमणमा आएका राजा महेन्द्र चढेको घोडामा झुण्डिएर राजासमक्ष आफ्नो माग पुर्‍याउन सफल भएपछि पहिलो पटक चर्चामा आएका व्यक्ति हुन् । उनकै प्रयासले डोटी र दैलेखको प्रशासनिक नियन्त्रण अन्तर्गत बाँडिएका भेगहरूलाई जोडेर अछाम जिल्लाको गठन गरिएको थियो ।

वि.स १९८४ साल मंसिर ८ गते अछामको रिडिकोटमा जन्मिएका स्वाँर २०३७ सालमा कानुन तथा न्यायमन्त्री तथा २०३८ को असारमा गृहमन्त्री भएका थिए भने पञ्चायत कालको अन्तिम मन्त्रिमण्डल २०४६ मा समेत उनी केही समय गृहमन्त्री भएका थिए ।

उनी २०२४, २०२९, २०३६ र २०३८ सालमा गरी ४ पटक राष्ट्रिय पञ्चायतको सदस्य भएका थिए । साथै २०२५ असोजमा भूमिसुधार राज्यमन्त्री नियुक्त भएका स्वाँर २०३० साउनदेखि २०३२ मंसिरसम्म राष्ट्रिय पञ्चायतको अध्यक्ष थिए ।

उनले २०४६ सालपछि केही वर्ष सक्रिय राप्रपाको सक्रिय राजनिति समेत गरेका थिए । स्वाँर २०१६ सालमा नेपाल राष्ट्रवादी गोरखा परिषद्को तर्फबाट संसदको माथिल्लो सदन (महासभा) को सदस्यमा निर्वाचित भएका थिए । स्वाँरका श्रीमती, २ छोरा र २ छोरी छन् ।

कस्तो बिडम्वना ! सवै सत्ता र शक्तिको पछि मात्र दगुर्ने चलन छ यहाँको । पञ्चायत कालका दिग्गज राजनीतिज्ञ तथा शक्तिशाली पूर्व गृहमन्त्री स्वाँरको निधन पनि छायाँमा परेको छ । साथै उनको निधनको खवर देशका मूलधारका भनिने राष्ट्रिय मिडियामा पनि कतै देखिएन (यो सम्पादकीय लेखेको समय २०७७ साल मंसिर १८ गते बिहिबार राती ७ बजेसम्म) तर फाटफुट अनलाइन बाहेक अरुमा कमै मात्र देखियो । के उनी पञ्चायत कालकै पूर्व गृहमन्त्री भएर उनको खवर नआएको हो त ? यदि हो भने यो एकदम गलत पत्रकारिताको अभ्यास हो ।

नेपालको पत्रकारिता जगतमा अहिले आवाज बिहिनहरुको आवाज एकदम कमै मात्र देखिन्छ र सुनिन्छ । यसको विषयमा ध्यान जानु जरुरी छ । पत्रकारहरु पनि सधै सत्ता र शक्तिको पछि लाग्नु बिडम्वनाको कुरा हो । नेपालका मिडिया पनि सधै सत्ता र शक्तिको पछि दगुर्ने रोग भने नयाँ होइन ।

सत्ताको तावेदारी नभएर निरन्तर खबरदारी पत्रकारिताको स्वेच्छिक जिम्मेवारी भएकोले गर्दा निरन्तर सन्तुलनको खोज सबै बौद्धिक कर्मको मूलभूत अभीष्ट हुने भएकाले असल पत्रकारिताको आधारभूत भूमिका निभाउन जरुरी छ । विचार, समाचार एवं प्रचार बीचको लक्ष्मण रेखा हराएर गएको छ । कतिपय मूलधारका मिडिया पनि अन्तर्जाल पाटीको शैली पछ्याउन थालेका छन् ।

हुनपनि पञ्चायत शाशन हटेर बहुदल आएको पनि ३१ वर्ष बितिसकेछ । बहुदल आएपछि उनको चर्चा-परिचर्चा कम नै भएर होला शायद आज गुगलमा नेपाली र अंग्रेजी भाषामा उनको बारेका खोज गर्दा आर्काइभमा उनको पुरानो तस्वीर समेत पाउन कठिन छ, पाई हालेपनि उनको निधनको खवर बाहेकको अन्य तस्वीर पाइदैन ।

जनमत संग्रहपछि सम्पन्न राष्ट्रिय पञ्चायतको सदस्यको निर्वाचनपछि सूर्यबहादुर थापाको अध्यक्षतामा गठित मन्त्रिपरिषद्मा नैनबहादुर स्वाँर पहिला कानून मन्त्री र पछि शक्तिशाली गृहमन्त्री भए । उनी मन्त्री र राष्ट्रिय पञ्चायतको अध्यक्ष हुँदा उनलाई भेट्न विदेशी पाहुना प्रायः आइरहन्थे । सधै भिडभाड हुने गर्दथ्यो उनको सचिवालय र निवासमा ।

राजनीतिक पहुँचमा हुनेहरूको मात्र यहाँ चर्चा हुने गर्दछ । साथै असल मनुष्यले के पनि बुझ्नु पर्छ भने मानिसको शारारिक, मानसिक र राजीतिक शक्ति तथा सत्ता भनेको क्षणिक हो । यहाँ कसैले पनि अहिले घमण्ड गर्नुपर्दैन ।

शक्तिमा हुँदा राजनीतिक दलका नेताहरुका घरमा भेट्न आउने मानिसको भीड र शक्ति सत्तामा नहुँदा घाम तापेर समय बिताउन कठिन हुनेको दुर्दशा पनि छुट्टै छ यहाँ । राजनीति र पदवाट रिटायर लाइफ बिताउन असहज भएको मैले धेरै नै देखेको छु ।

नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु र प्रहरीका पूर्व महानिरीक्षकहरुलाई आफ्नो कार्यकालमा आफ्ना कनिष्टहरुले हानेको सलामको धंगधंगीले मानसिक रोगी भई चिन्ताले मुटुको रोग समेत हुने गरेको ज्वलन्त उदाहरण पनि मैले धेरै देखेको छु ।

आफुलाई अनन्त कालसम्म सम्झिरहन र बाँचिरहन आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर देश र जनताको लागि आफ्नो जीवन समर्पित गर्नतर्फ लाग्न आजैवाट प्रयास गरौ । लगभग ७.८ अरव जनसंख्या भएको अहिलेको विश्वमा आफ्नो नाम सुनौलो पानामा लेखेर मृत्युपछि पनि अनन्तकालसम्म जीवित हुने मानिस हजारौ मात्रै होलान् ।

तसर्थ यो चराचर जगतमा एकपटक पाउने अमूल्य जीवनकालमा सुकर्म गरौ, पहिला आफ्नो देशको लागि अनि पुरै विश्वको लागि तर यो यस्तो सौभाग्य कमैलाई मात्र जुर्छ । सत्ताले शक्ति पैदा हुन्छ तर यी दुवै क्षणिक हुन् ।

स्वाँरले आफ्नो कार्यकालमा देशको बारेमा के गरे वा गरेनन् त्यो आफ्नो ठाउँमा होला । मैले यहाँ भन्न खोजेको के हो भने सत्ता र शक्ति क्षणिक हो । यसवाट आजको सत्ता र शक्तिमा भएका राजनीतिक नेताहरुको खोपडीमा यो कुराको चेतना होस् भन्ने अभिप्राय मात्र हो ।

देशको राष्ट्रपति, प्रधानमन्त्री वा मन्त्री जुनसुकै पदमा भएकाहरुले आफ्नो कार्यकालमा देश र जनताको लागि भलो हुने काम गरुन जसले गर्दा उनीहरुलाई आम नेपालीले अनन्त कालसम्म सम्झिन लायक हुन् ।

सत्ताको गुणगान र रामायणको भजन मात्र गाउनु पत्रकारिताको धर्म होइन । पत्रकारिता सत्ताको जय/जयकार गर्न थालेपछि नागरिक समाज भने सतर्क हुनु जरुरी छ । गल्ती र कमीकमजोरी सवै क्षेत्रमा हुन्छन् तर सच्चिनु जरुरी छ ।

नेपालको पत्रकारिता जगतले पनि समाचार सम्प्रेषण गर्दा कुनै पार्टी, व्यवस्था र पद्धति भनेर भेदभाव नगरी समावेशी र समावेशी हुन जरुरी छ । जसले मात्र पत्रकारिताको सच्चा धर्म निभाएको ठहरिनेछ ।

अन्त्यमा उनको निधनको समाचारले रेडियो, टेलिभिजन र अन्य संचार माध्यममा ठाउँ नपाउनु एकदम निन्दनीय घटना हो । अव नेपाली पत्रकारिता जगतले यस्तो गल्ती नगरोस् भन्ने मेरो धारणा हो ।

जे होस् पञ्चायत कालका ती शक्तिशाली पूर्व गृहमन्त्री तथा राष्ट्रिय पञ्चायतको अध्यक्ष नैनबहादुर स्वाँरप्रति हार्दिक श्रद्धान्जली !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !